लमजुङ– मर्स्याङ्दी गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्तिक २७ देखि मंसिर १ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो मर्स्याङ्दी महोत्सव २०८१’ आयोजना गर्ने भएको छ ।
गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्न दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
गाउँपालिकाले कार्तिक २७ र २८ गते मर्स्याङ्दी गाउँपालिका ३ र ९ को संगमस्थल खुँदी बेनीमा धार्मिक मेला (हरिबोधिनी एकादशी मेला) आयोजना गर्ने छ । यो २ दिन फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिबल प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता, दन्त शिविर, मर्स्याङ्दी ३, ढगैंबेसीस्थित राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल पार्क र मर्स्याङ्दी ७, ताङ्लीचोकस्थित डा. हर्क गुरुङ समाधिस्थल पार्क अवलोकनलगायत कार्यक्रम राखेको छ । यस कार्यक्रमलाई खुँदी यूथ सोसाइटी र खुँदी टोल विकास संस्थाले सह आयोजकको रूपमा व्यवस्थापन गर्नेछ ।
कार्तिक २९ गते मर्स्याङ्दी ४ जगतमा जगत तातोपानी महोत्सव आयोजना गरिने भएको छ । उक्त दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा विक्री वितरणलगायत कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई जगत टोल विकास संस्था तथा तातोपानी युवा क्लब जगतले सह आयोजकको रूपमा व्यवस्थापन गर्नेछ ।
कार्तिक ३० गते भीर मह सिकारको कार्यक्रम रहेको छ । यो कार्यक्रम वडा नं. २ घनपोखरा, वडा नं. ४ मिप्रा, वडा नं. ५ घेर्मु र वडा नं. ६ बाहुन डाँडा क्षेत्रका विभिन्न भीरहरूमा महशिकार महोत्सव हुनेछन् । यो दिन भीर मह शिकार अवलोकन तथा भीर मह शिकार डकुमेन्ट्री छायांकन कार्यक्रम हुनेछ । उक्त कार्यक्रमलाई सह आयोजकको रूपमा वडा नं. २, ४, ५ र ६ ले व्यवस्थापन गर्नेछ ।
अन्तिम दिन मंसिर १ गते स्याँगे झरना, बुङ झरना र अक्टोपस झरना महोत्सव हुनेछ । मर्स्याङ्दी गाउँपालिका ४ स्याँगे र च्याम्चेस्थित यी ३ झरनामा हुने कार्यक्रममा झरनाहरूको अवलोकन, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा विक्री वितरण हुनेछ ।
कार्यक्रममा सह-आयोजकको रूपमा स्याँगे टोल विकास संस्था, कन्यादेवी युवा क्लब मिप्रा, च्याम्चे टोल विकास संस्था तथा च्याम्चे युवा क्लबले व्यवस्थापन गर्नेछन् ।