डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा रमाना गरेको छ । भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई राष्ट्रिय योजना आयोगमा सिर्जित ‘विशेष अधिकृत’ पदमा हाजिरीका लागि रमाना पत्र दिएको हो । १० असारको मन्त्रिपरिषद्को निर्णय अनुसार नै अर्याललाई योजना आयोगमा विशेष दरबन्दी सिर्जना गरिएको थियो ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएसँगै उनी सरकारी काममा फर्किने बाटो खुलेको हो ।
अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद् बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो । निमित्त तथा कायम मुकायमबाट काम गराउँदा पूर्ण रूपमा निर्णय गर्न कठिन हुने भएसँगै सरकारले डा. अर्याल निलम्बनमा परेपछि नयाँ मुख्यसचिव नियुक्तिको बाटो खोल्न प्रधानमन्त्री कार्यालय मातहतकै निकाय योजना आयोगमा मुख्यसचिव सरहकै पद सिर्जना गरेर सरुवा गरेको थियो ।
‘नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा रहनु भएको सन्दर्भमा राष्ट्रिय योजना आयोगमा ‘विशेष अधिकृत’ (राजपत्राङ्कित विशिष्ट श्रेणी, मुख्यसचिवसरह) पद सिर्जना गरी निजको पदाधिकार उक्त पदमा सार्ने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको थियो ।
मुद्दा लागेको भोलिपल्टै अर्याललाई सरुवा गर्ने निर्णयपछि लीलादेवी गड्तौला निमित्त हुँदै ३१ असारमा कायममुकायम मुख्यसचिव नियुक्त भइन् । त्यसपछि १० साउनमा मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए ।