काठमाडौं– ज्यान मुद्दामा पाँच वर्ष कैद तोकिएका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) प्रहरीसमक्ष आत्मसमर्पण गर्ने मनस्थितिमा छन् । प्रहरी भने आत्मसमर्पणपूर्व नै पक्राउ गर्ने तयारीमा जुटेको छ ।
उच्च अदालत पाटनले २०७४ सालमा पाँच वर्ष कैद गर्ने फैसला सुनाएपछि पक्राउ परेका मनाङेले निर्णय बदर तथा थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्षको माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका थिए ।
त्यसअनुसार सर्वोच्चले उनलाई थुनाबाहिर रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दियो । तर, सर्वोच्चले मंगलबार सोही निवेदनमाथि अन्तिम सुनुवाई गर्ने क्रममा उच्च अदालतको आदेश सदर गरेको थियो ।
मनाङे मुख्य योजनाकार रही २०६१ वैशाख २१ गते चक्रे मिलन नामले चिनिने गुण्डानाइके मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । घटनापछि गुरुङपत्नी इन्दिराले दिएको जाहेरीका आधारमा उनीमाथि कुटपिटको मुद्दा चल्यो । सोही मुद्दा २० वर्षदेखि चल्दै आएको हो ।
अब मनाङेले कानुनतः २८ महिनाको कैद मुक्तान गर्न बाँकी छ ।
मनाङे मंगलबार उच्च अदालत परिसरबाटै ‘फरार’ छन् । अहिलेसम्म पनि सार्वजनिक सम्पर्कमा नरहेका उनलाई आत्मसमर्पण गर्नुपर्ने सुझाव उनीनिकटस्थ कानुन व्यवसायीले दिएका छन् ।
केन्द्रीय प्रहरीको निर्देशनबमोजिम अहिले मनाङे पक्राउका निम्ति तीन युनिट सक्रिय भएका छन् । मंगलबार पाँच वर्षको कैद सदर भएको भोलिपल्टै उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, जिल्ला प्रहरी परिसर, भद्रकाली र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीलाई प्रहरी प्रधान कार्यालयले उनको खोजीकार्यका निम्ति निर्देशन दिएको छ ।
प्रधान कार्यालयको निर्देशन पाउनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार नै सर्वोच्च अदालतमा उक्त मुद्दाको संक्षित आदेश माग गर्दै पत्राचार गरेको छ । अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कास्कीले पनि उनको मोबाइल फोन सम्पर्कको अभिलेख ‘सिडिआर’ अध्ययन गर्दै अनुसन्धानलाई अगाडि बढाएको छ ।
याे पनि,
फोन ‘स्वीच अफ’ गरेर फरार भए सांसद दीपक मनाङे, पक्राउ गर्न प्रहरी परिचालन
गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर