जुम्ला– कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन शुरू गरेको गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताए ।
गएको वर्षदेखि गाउँपालिका–५ निवासी प्रिन्सा हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका छन् । उनी अहिले दोस्रो वर्षमा अध्ययनरत छन् । एमबीबीएस अध्ययन गर्न ४६ लाख रुपैयाँ लाग्नेमा गाउँपालिकाले २३ लाख रुपैयाँ प्रिन्सालाई छात्रवृत्तिबापत प्रदान गरेको उनले बताए ।
चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने शर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ ।
यस्तै गाउँपालिका-३, की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहन स्वरूप एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत छन् ।
गाउँपालिका-५, बडुवालवाडाका विवेक बडुवाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बीटीएस डेन्टल अध्ययन गर्दै छन् ।
बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहन स्वरूप एक लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिए ।