जुम्ला– अहिले पनि दुर्गमबाट सुगममा गएर विशेषज्ञ चिकित्सक सेवा लिनुपर्ने बाध्यता छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जिल्लामै भए पनि आर्थिक रूपले विपन्न नागरिक अस्पताल पुगेर उपचार गर्न मुस्किल छ ।
विशेषज्ञ चिकित्सक उत्पादन गरी गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउन थालेको छ । पालिकाभित्रका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर एमबिबिएस पढाउन थालेको हो ।
कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजामा १५ शड्ढयाको अस्पताल पनि निर्माण भइरहेको छ ।
गाउँमै विशेषज्ञ डाक्टर उत्पादन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन छात्रवृत्तिमा कनकासुन्दरीले एमबिबिएस पढाउने कार्यक्रम ल्याएको कनकासुन्दरी गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीले बताए । उनका अनुसार हाल तीनमध्ये एकजनालाई ५० प्रतिशत छात्रवृत्तिमा एमबिबिएस पढिरहेका छन् । दुईजनालाई प्रोत्साहनस्वरूप एक–एक लाख रुपैयाँ सहयोग गरेको छ ।
कनकासुन्दरी गाउँपालिका-५ लुड्की गाउँकी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा चिकित्सा शिक्षा एमबिबिएस पढ्दै आएकी छिन् । उनी गत वर्षदेखि नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन् ।
एमबिबिएस अध्यायनका लागि झन्डै ४६ लाख खर्च हुन्छ । हमाललाई एमबिबिएस पढाउन कनकासुन्दरी गाउँपालिकाले ५० प्रतिशत छात्रवृत्तिस्वरूप २३ लाख लगानी गरेको छ ।
कनकासुन्दरी गाउँपालिका-३ की कल्पना बुढालाई पनि एमबिबिएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ छात्रावृत्ति प्रदान गरेको छ ।
उनी किस्ट कलेज ललितपुरमा अध्ययन गर्दै आएकी छिन् । कनकासुन्दरी गाउँपालिका– ५ बढुवालवाडाका विवेक बढुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिडिएस डेन्टल अध्ययन गर्दै छन् । उनलाई पनि प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ सहयोग गरेको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।
कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले भने, ‘प्रिन्ता हमाललाई ५० प्रतिशतमा एमबिबिएस पढाएका छौँ । उनीसँग अध्ययनपछि दुई वर्ष अनिवार्य रूपमा गाउँपालिकामै सेवा गर्नुपर्ने सर्त तोकिएको छ । गाउँमै विशेषज्ञ सेवा सञ्चालन गर्ने लक्ष्यमा सफल हुनेछौँ ।’
पातारासी गाउँपालिकाले पनि छात्रवृत्तिमा एकजनालाई चिकित्सा शिक्षा एमबिबिएस पढाइरहेको स्वास्थ्य शाखा संयोजक रतन बुढथापाले बताए । ‘सात लाख रुपैयाँका दरले पाँच वर्षमा ३५ लाख छात्रवृत्ति प्रदान गरेका छौँ,’ उनले भने । तातोपानी गाउँपालिकाले ५० प्रतिशत छात्रवृत्तिमा एमबिबिएस र इन्जिनियर पढाउने नीति अघि सारेको छ ।