काठमाडौं- गत स्थानीय तहको निर्वाचन, २०७९ मा भन्दा आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ लाख ४० हजार मतदाता थपिएका छन् ।
स्थानीय तहको उपनिर्वाचन, २०८१ का लागि निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार १ लाख ४० हजार २६२ मतदाता थपिएका हुन् ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि प्रकाशन भएको अन्तिम नामावली अनुसार मतदाताको संख्या १ लाख ४० हजार २६२ बढेर १ करोड ८१ लाख २८ हजार ८३२ पुगेका छन् ।
गत निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता र ८८ लाख ४७ हजार ५७९ महिला मतदाता थिए । अगामी उपनिर्वाचन प्रयोजनका लागि प्रकाशित भएको अन्तिम मतदाता नामावली अनुसार पुरुष मतदाता ८४ हजार ६४२ मतदाता थपिएर ९२ लाख २५ हजार ४४८ पुगेका छन् भने ५५ हजार ६१८ मतदाता थपिएर ८९ लाख ३ हजार १९७ पुगेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियका अनुसार गत वैशाख १४ मा सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचन प्रयोजनका लागि प्रकाशित भएको अन्तिम मतदाता नामावली अनुसार १ करोड ८० लाख ८८ हजार ९८३ मतदाता रहेका थिए । अहिले भने ३९ हजार ८४९ मतदाता बढेर १ करोड ८१ लाख २८ हजार ८३२ पुगेको थपलियाले बताए ।