लमजुङ– हरिवोधनी एकादशीको अवसरमा लमजुङको खुदीमा दोस्रो मर्स्याङ्दी महोत्सव आयोजना गरिएको छ ।
हरिबोधिनी एकादशीको अवसर पारेर मर्स्याङ्दी गाउँपालिकामा मंगलबारेदेखि मंसिर १ गतेसम्म एकादशी मेलाको साथमा पाँच दिने दोस्रो मर्स्याङ्दी महोत्सव ०८१ आयोजना गरिएको हो ।
पालिकालाई होमस्टेको हब बनाउने लक्ष्य लिएको गाउँपालिकाले महोत्सव अवधिभर पालिकाभित्रका विभिन्न पर्यटकीय गाउँहरूमा होमस्टेको प्याकेज बनाएको छ । गुरुङहरूको आदिम थलोसमेत रहेको सुन्दर घन पोखरा, सिउरुङ, नयाँ गाउँ, मिप्रा, छापा, उस्ता, छिनखोला, ढंगै, खानी गाउँ रक गार्डेन, सञ्जापु लगायतका ग्रामीण पर्यटन र होमस्टेहरूको प्रचार प्रसार गरी ती गाउँहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने कार्यक्रम गर्न लागिएको हो ।
महोत्सव अन्तर्गत मर्स्याङ्दी नदीमा फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडा स्तरीय भलिबल प्रतियोगिता स्वास्थ्य शिविर सञ्चालन गरी राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थान पार्क र डा हर्क गुरुङ समाधिस्थल पार्कमा विभिन्न कार्यक्रम आयोजना हुने छन् ।
कार्तिक २९ गतेका गाउँपालिकाको वडा नं ४ स्थित जगत बजारमा जगत तातोपानी महोत्सव गरिने छ । सो दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरणलगायत कार्यक्रम तय गरिएको छ ।
यसै गरी कार्तिक ३० गते गाउँपालिकाका विभिन्न वडाका भीरहरूमा भीर मह शिकार (हनि हन्टिङ) को कार्यक्रम तय गरिएको छ । घन पोखराका साथै ताघ्रिङको काप्रेभीर, स्याँगे भीर, मिप्रा, घेर्मु, बाहुन डाँडाका विभिन्न भीरमा भीर मौरी शिकारको कार्यक्रम तय गरिएको पालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
यसै गरी, मंसिर १ गते गाउँपालिका– ४ स्याँगे स्याँगेमा रहेको स्यांगे छहरा, च्याम्चेको बुङ झरना र अक्टोपस झरनामा पनि महोत्सवको तयारी गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
पर्यटकीय महत्वका यी झरनाको प्रचार प्रसारका साथै स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा विक्रीको कार्यक्रम राखिएको छ ।
मर्स्याङ्दी महोत्सवमा २५ लाख बढीको भिर मह बिक्री हुने अनुमान छ ।