पोखरा– कर्मचारी विवाद समाधानका लागि समिति गठन गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाको संयोजकत्वमा नेपाली कांग्रेस र ननेकपा एमाले वडाध्यक्ष र सदस्य सम्मिलित समिति गठन गरिएको हो ।
समितिको सदस्यहरूमा ४ नम्बर वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का बिष्णु प्रसाद बराल, १३ का किरण बराल, १५ का तोरण बानियाँ छन् । यस्तै, ३० का सदस्य विनोद लामिछाने, १६ का रामचन्द्र आचार्य, २२ की कृष्ण कुमारी पौडेल र २८ की डाल्डादेवी भुजेल पनि सदस्य छन् ।
उनीहरूलाई समाधानको उपाय सुझाउन ३ दिनको म्याद दिइएको छ ।
‘महानगरपालिकामा वर्तमान समयमा कर्मचारी परिचालन र व्यवस्थापन लगायत महानगरमा देखिएका अन्य विभिन्न समस्याका सम्बन्धमा गहन छलफल तथा विचार विमर्श गरी ३ दिनभित्र समाधानका उपायहरू सहितको सुझाव पेस गर्न तथा सहजीकरण गर्नका लागि सहजीकरण समिति गठन गरिएको छ,’ निर्णयमा भनिएको छ ।