काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नंं १० ले मध्य बानेश्वरमा स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा सुरु गरेको छ ।
बिहीबारबाट सुरु भएको केन्द्रमा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो एक्स-रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध छन् ।
सेवा शुभारम्भ गर्दै वडा १० का अध्यक्ष रामकुमार केसीले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
‘आकस्मिक अवस्था आइ परेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स-रे सम्मको सेवा दिन सक्छौँ’, वडाध्यक्ष केसीले भने ‘यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै लैजानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनै परे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ ।’
बाग्मति प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे ।
महानगरका स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्धन केन्द्रलाई स्वास्थ्य वीमाको पहिलो सम्पर्क विन्दुका रूपमा प्रयोगमा ल्याइसकिएको छ ।