काठमाडौं– मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ।
सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिइन। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख र उपप्रमुख १/१ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशंकर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका-६, तेह्रथुमको लालीगुराँस नगरपालिका-८, सुनसरीको गढी गाउँपलिका-६, ओखलढुंगाको मोलुङ गाउँपालिका-५, उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९, सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहटको ईशनाथ नगरपालिका-७, राजपुर नगरपालिका-६ र गढीमाई नगरपालिका-८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ र ४, काठमाडौं महानगरपालिका-१६, नुवाकोटको ककनी गाउँपालिका-२, मकवानपुरको हेटौंडा नगरपालिका-१२, गोरखाको गोरखा नगरपालिका-५, गुल्मीको मुसिकोट नगरपालिका-१, रोल्पाको रुन्टीगढी गाउँपालिका-४, बर्दियाको ठाकुरबाबा नगरपालिका-४, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका-२ र कपिलवस्तु शुद्धोधन गाउँपालिका-१ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए।
दैलेखको दुल्लु नगरपालिका-१३, कालिकोटको तिलागुफा नगरपालिका-४, जाजरकोट कुशे गाउँपालिका-७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५, बझाङको सुर्मा गाउँपालिका-४, डोटीको पूर्वीचौकी गाउँपालिका-६, दार्चुलाको दुहुँ गाउँपालिका-५ र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ।
कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन्।
महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले ३ लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले २ लाख र गाउँपालिकाका वडाध्यक्षले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछन्। उपनिर्वाचनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या २५ छ।