मनाङ– अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको गंगापूर्ण ताल संकटमा पर्दै गएको छ । यसको संरक्षणमा गाउँपालिकाले चासो दिएको छ । यो ताल ङिस्याङ गाउँपालिका–६ मा पर्छ ।
तापक्रममा भएको वृद्धिले तालको उद्गम ठाउँको हिउँ पग्लिने क्रम बढेकाले ताल साँघुरिँदै गएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।
बर्सेनि खस्ने हिम पहिरोले ताल पुरिँदै जान थालेपछि गाउँपालिकाले ताल वरपर पर्खाल लगाउन थालेको छ । ताल संरक्षणका लागी एक सय मिटर पर्खाल निर्माण भइसकेको छ । पर्खालले मानिस तथा चौपायालाई तालमा पस्नबाट जोगाएको स्थानीयले बताएका छन् ।
यो हिमपात गंगापूर्ण हिमाल, अन्नपूर्ण चौथो, खाङसार हिम क्षेत्रबाट बगेको हिमनदीले बनेको हो । यही हिमतालमा डेढ वर्षअघि अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडालगायत अभिनीत बलिउड फिल्म ‘उचाइ’ को समेत छायाङ्कन गरिएको थियो । तर अहिले तालको सुन्दरता पहिले जस्तो छैन ।
गंगापूर्ण ताल जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र मनाङ ङिस्याङ गाउँपालिकाले संरचना निर्माण गरेको छ । केही वर्ष अगाडी ताल संरक्षणमा ४ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा जलजला शिव शक्ति अधिकारी जेभीले टेन्डरमार्फत भ्याटसहित २ करोड ९५ लाख रुपैयाँमा संरक्षणको काम गरेको हो ।
ताल जोगाउन कुनापट्टिको ४० मिटरको २ लेयरको चेकड्याम बनाइएको छ । करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त ताल हिमपात नहुँदा नीलो, वर्षायाममा सेतो र हिउँदमा जमेको देखिन्छ ।
२ वर्ष मनाङको स्थानीय विकास अधिकारी भएर बसेका कृष्णप्रसाद धितालका अनुसार सन् १९६० आसपास गंगापूर्ण ताल बनेको अध्ययन अनुसन्धानबाट देखिएको हो । उनका अनुसार टोनी हेगनले सन् १९५२÷५४ तिर भ्रमण गर्दा उक्त स्थानमा ताल थिएन भनिन्छ । ताल बनेको साढे ६ दशक पनि नपुग्दै यो ताल अहिले संकटमा परेको छ ।
हिमनदीमा बाढी आउने क्रम बढेपछि त्यसले बगाएर ल्याएको बालुवा र माटोले ताल पुरिँदै गएको छ । बर्सेनि ताल पुरिने क्रम बढेपछि तालको अस्तित्व संकटमा परेको हो ।
मनाङ हुँदै थोराङ तथा तिलिचो जाने पर्यटक यही ताल हुँदै जाने गर्छन् । तालको पानी बर्सेनि घट्दै गएको छ । तालको संरक्षणमा सरकारले आवश्यक कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन् । गंगापूर्ण ताल समुद्री सतहबाट ३ हजार ५ सय ४० मिटरको उचाइमा अवस्थित छ । गंगापूर्ण ताल तिलिचोपछिको पर्यटकीय आकर्षणको दृष्टिकोणले दोस्रो ताल हो ।
गंगापूर्ण हिमाल, अन्नपूर्ण–४, खाङसार काङ, ग्लेसियर डोमबाट बगेर आएको हिमनदीबाट यो ताल बनेको छ । तालको तीन भागमध्ये एक भाग पुरिएको स्थानीयले बताएका छन् । ताल २१ दशमलव ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
ताल सफा भएको वेला नीलो र वर्षायाममा सेतो देखिन्छ । हिउँदमा तालको पानी जम्ने गर्छ । मनाङ ङिस्याङ गाउँपालिका–६ का अध्यक्ष सोनाम गुरुङले ताल संरक्षणको विषयमा छलफल सुरु भएको बताए ।