लमजुङ – मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङको मिप्रा भिरमा ‘हनि हन्टिङ’ अर्थात् मह शिकार गरिएको छ ।
दोस्रो मर्स्याङ्दी महोत्सवको अवसरमा मिप्रा भिरमा महशिकार गरिएको हो । पर्यटन प्रवर्द्धनको लागि महशिकारलाई महोत्सवको एक मुख्य आकर्षण बनाइएको मर्स्याङ्दी गाउँपालिकाले बताएको छ ।
छङ्गाछुर भीरमा डोरीकै भरमा महशिकार गरेको दृश्यलाई धेरै दर्शकले रुचाएका थिए । महशिकार गरेको हर्न दर्शकको घुइँचो नै लागेको थियो । महशिकार गरेको हेर्न रमाइलो हुन्छ । तर यो काम गर्न निकै कठिन र जोखिम हुन्छ । ज्यानको बाजी थापेर ‘महसुर’ महशिकारीले मात्रै यस्तो काम गर्न सक्छन् ।
मर्स्याङ्दी गाउँपालिका ४ मिप्रा भीरमा झुन्ड्याइएको डोरीमा स्थानीय मीनबहादुर गुरुङ भीरमा झर्छन् । करिब ५ सय मिटर खोंचमा खोलालाई कुनै परवाह नगरी उनको ध्यान भीर महशिकारमा हुन्छ । तलबाट काँचो स्याउला बालेर आएको धूवाँ र धूवाँसँगै रन्थनिएको मौरीले उनको ज्यानमा बेरिन्छ तर आफूलाई माहुरीले नटोकेको उनी बताउँछन् । उनीपछि पालैपालो डिलबहादुर गुरुङ र राजकुमार गुरुङ पनि भीरमा फालिएका डोरीमा झुन्डिएर मह शिकार गर्छन् ।
महशिकार गरेको दृश्य प्रत्यक्ष हेर्न पाउँदा निकै बडो रमाइलो अनुभूति भएको मर्स्याङ्दीकाे काशी गुरुङ बत्ताउँछिन् । महशिकार हेर्न मिप्रा भीरमा पुगेका दर्शकले महशिकार मात्र हेरेनन् ।
उनी मात्र हैन आङै सिरीङ्ग हुने अग्ला भीर पहरामा निडरका साथ महशिकारीहरुले मह काढेको दृश्य देख्दा आनन्द महसुस भएको भोटेवडारकी बिपना कुवरले बताइन् ।उनले भनिन् भीर माहुरीको शिकार गरेको कहिल्यै नदेखेकाले पहिलो पटक देख्दा साँच्चै अविस्मरणीय र रोचक बन्यो ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवं मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाभित्रका धेरै ठाउँमा साहसिक तरिकाले महशिकार हुँदै आएको बताए । उनले भने यस्ता कामले चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ ।
लमजुङको घन पोखरा, सिऊरुङ, पसगाउँ, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दूध पोखरी लगायतका भीर पहराहरूमा भीर मौरीहरू प्रशस्त पाइन्छ । झन्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहरामा भीरमौरीले घार बनाउने गर्दछ ।
अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दीका–३, खुदीमा हरिबोधिनी एकादशीको अवसर पारेर कार्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ आयोजना गरिएको थियो ।
यसरी गरिन्छ मह शिकार
भीर माहुरीको मह काढ्दा थोरै गल्ती भए ज्यानै पनि जान सक्छ । नेपालमा विरलै हुने मह शिकार लमजुङमा कहालीलाग्दो भीर तथा पहराहरूमा ज्यानको बाजी राखेर स्थानीय शिकारीहरुले गर्दै आएका छन्।
भीर माहुरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय विना तयारी मह काढ्ने प्रचलन पनि उत्तिकै बढेको छ । लमजुङका अधिकांश भीर तथा पहराहरूमा भीर मह पाइन्छ । जाँगरिला मह शिकारीहरुले वर्षैपिच्छे मह शिकार गर्दै आएका छन् ।
भीर मह जस्तोसुकै भीरमा हुँदैन । भीर माहुरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँ कतैबाट ठेस नपुग्ने ठाउँमा बनाइएका घारमा शिकार गर्न चोयाको डोरीको साथ लिनुपर्छ।
दुईवटा डोरी बाँधेर ठेल्ना राखिन्छ र भर्याङ जस्तो बनाएर डोरीलाई भीरको सिरानमा रहेको रुखमा बाँधी त्यसबाट शिकारी झुण्डेर मह काढ्ने गरिन्छ ।
विशेष गरी कात्तिक, मंसिर र वैशाख महिना भीर मौरीको मह काढ्ने उपयुक्त समय भएको घन पोखराका प्रकाश गुरुङले बताए ।
उनका अनुसार पहिले–पहिले बुढापाकाले भीर मह काढ्थे । पछिल्ला केही वर्षयता युवा अघि सरेका छन्। ‘बूढा भएका बाउ बाजेहरूलाई धेरै दुख दिनु हुँदैन भनेर युवा अघि सरेका छौँ,’उनले भने ।