लमजुङ– दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पतालको निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको वडा न २ अल्काचौरमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गरिएको हो ।
दुई वर्ष अघि ०७८ सालदेखि १५ शय्याको अस्पताल निर्माण कार्य सुरु भएको गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले बताए । ३ वर्षमा सक्ने लक्ष्य लिइएपनि २ वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्न भएको हो ।
संघ सरकारको १३ करोड लगानीमा ९ रोपनी जग्गामा अस्पताल निर्माण कार्य सुरु गरिएको थियो । अस्पताल बनाउनको लागि सबै जग्गा स्थानीयले स्वैच्छिक रूपमा दान गरेका वडा नम्बर २ का पूर्व वडाध्यक्ष गोविन्द दवाडीले बताए ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने गाउँपालिका जिल्लाकै विकट पालिका हो । नजिकै कुनै अस्पताल नभएका कारण यस क्षेत्रका नागरिक बिरामी भएमा सदरमुकाम बेसीशहर, गोर्खाको भच्चेक वा काठमाडौं, पोखरा धाउनु पर्ने अवस्था छ ।
अस्पतालमा सेवा सुरु भए पछि गाउँपालिका र छिमेकी जिल्ला गोरखाको अजिरकोट गाउँपालिकाको गरी करिब १५ हजार जना लाभान्वित हुने दवाडीले बताए । अबको केही महिना भित्रमा नै अस्पतालले सेवा दिन सुरु गर्ने गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत बनेको अस्पतालमा ५ देखि ७ जनासम्म एम. डी सहितका डाक्टरहरू रहने व्यवस्था छ । गाउँमै सुविधा सम्पन्न अस्पताल बनेपछि सामान्य उपचारको लागि पनि टाढा धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय निकै खुसी भएका छन् ।
स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । अस्पताल भवन निमार्णका लागि हिम सगरमाथा र गौरीपार्वती कन्स्ट्रक्सनसंग गत असारमा सम्झौता भएको हो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी १२ करोड ९० लाख ४९ हजार तीन ६६९ रुपैयाँमा सम्झौतामा भएको अस्पताल भवन निर्माण कार्य गत कात्तिकबाट सुरु भएको थियो ।