हेटौँडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ स्थित चुरियामाई मन्दिरनजिक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई शुक्रबार (आज) बिहान १० बजेतिर सडक छेउको खोल्सामा पल्टिएको हो।
दुर्घटनामा घाइतमध्ये बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य १६ जना घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका नेपाली नागरिकका साथै भारतका चारजना यात्रु रहेका छन्। घाइतेहरूमा ३ वर्षदेखि ५२ वर्षसम्मका यात्रुहरू छन्।
बसमा १८ जना यात्रु सवार रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन्। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।