मोरङ- मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ ।
शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो ।
भगिनी सम्बन्ध कायम गरिएको सो टाउन तानेसीगामा नगरमा पर्दछ । एरोस्पेस टाउनका रूपमा परिचित सो नगर जाक्साले अन्तरिक्षमा रकेट पठाउने ठाउँ हो ।
कांग्रेसका सांसद डा. सुनिल शर्माले दुई पालिकाबीचको सम्बन्ध उदाहरणीय र ऐतिहासिक रहेको बताए। उनले भने, ‘खाना र आधारभूत शिक्षाका लागि संघर्ष गरिरहेको नेपालको एक गाउँ र अन्तरिक्षमा रकेट पठाई मानवबस्ती बसाल्ने परिकल्पना गरिरहेको अर्को सहरबीचको यो सम्बन्ध अत्यन्तै उदाहरणीय र सुमधुर बन्नेछ ।’
नेपाल र जापानबीचको सम्बन्ध सरकारका बीचको मात्र नभएर जनता जनताबीचमा पनि उत्तिकै पुरानो र सुमधुर रहेको डा. शर्माले बताए । गाउँपालिकाका अध्यक्ष राईले दुई पालिकाबीच कायम भएको भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।
त्यसैगरी मिनामितानेका टाउनका प्रमुख कोजोनोले नेपालबाट जापानसम्म आई दुई पालिकाबीच सम्बन्ध जोड्ने अवसर प्रदान गरेकामा धेरै खुसी लागेको बताए ।