काठमाडाैं- स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे भने एमालेका सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गरे ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा एमालेका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भए । उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गरे ।
यस्तै, कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, एकीकृत समाजवादीका रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भइन । कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन । सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजय हासिल गरिन ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरे ।
आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५, कांग्रेसका नवराज बस्नेतले चार सय चार, जनता समाजवादी पार्टीका राजकुमार राईले दुई सय सात, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले एक सय २३ मत प्राप्त गरे ।
मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।
उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक÷एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाए । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।
ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।