काठमाडौं– आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।
पोखराले पहिलो जितमा एनपीएलमा चार कीर्तिमान पनि बनायो । जसमा गौसको पहिलो शतक समेत रह्यो । गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्यो ।
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे । उनले १२ चौका र ५ छक्का नै प्रहार गरे ।
यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।
अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके ।
लुम्बिनीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।