काठमाडाैं– ललितपुर महानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
महानगरका प्रतिनिधिसहित मुस्ताङ पुगेका नगरप्रमुख चिरीबाबु महर्जन र गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे ।
घरपझोङको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको महानगरप्रमुख महर्जनले बताए।
समझदारीपत्रमा हस्ताक्षरपछि उनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा महानगरले सहयोग गर्ने बताए।
गाउँपालिकाका अध्यक्ष लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए। आफ्नो निमन्त्रणालाई स्वीकार गरेर प्रमुखसहितको प्रतिनिधिमण्डल पालिकामा आएर भगिनी सम्बन्ध स्थापित गर्न पाएकामा खुसी व्यक्त गरे ।
हिमालपारिको जिल्लामा गर्नुपर्ने काम धेरै भए पनि वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको उनको भनाइ थियो ।
महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले गाउँपालिका र महानगरको संस्कृति र सभ्यताबीच एकरूपता रहेको बताए।
महानगरले घरपझोङसहित पाँचवटा पालिकासँग भगिनी सम्बन्ध कायम गरेको बताउँदै प्रवक्ता महर्जनले भगिनी सम्बन्धले पालिकाहरूबीच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राखे।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि विकासमा साझेदारी र असल अभ्यासको अनुकरण र अनुसरण गर्न सहज हुने विश्वास व्यक्त गरे।
०७३ को स्थानीय निर्वाचनअघि मुस्ताङ जिल्ला साबिकका मार्फा, टुकुचेको दुईवटा वडा र जोमसोस गाउँ समितिलाई समेटेर घरपझोङ घोषणा गरिएको थियो ।