लमजुङ– मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेका छ ।
गाउँपालिकाले ०८० जेठ २३ गते सम्झौता गरेर सोही वर्ष माघ १५ गतेदेखि भवन निमार्ण सुरु गरेको इन्जिनियर सुरेश गौतमले बताए ।
३ तले भवन निमार्णको जिम्मा शैलेन्द्र–जयज्योति–बुद्धनाथ जेभीले लिएको छ । मूल्य अभिवृद्धि करसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ३ रुपैयाँ ९५ पैसा लागतमा भवन निमार्णको ठेक्का सम्झौता भएको हो ।
भवन निर्माणको भौतिक कार्य सबै सकिएको र अब फिनिसिङ, झ्याल–ढोका, विद्युतीय, कम्पाउन्ड रङरोगन र फर्निसिङको काम बाँकी रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
०८२ जेठ २३ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको भवनको निमार्ण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको पालिका अध्यक्ष गुरुङले बताए । अझै ६ महिना सम्झौता अवधि बाँकी रहे पनि अबको डेढ महिना मै बाँकी १५ प्रतिशत काम सम्पन्न गरी निमार्ण कम्पनीले भवन हस्तान्तरण गर्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।
अहिले सम्मको भौतिक प्रगतिलाई मध्यनजर गर्दा आगामी माघदेखि नव भवनबाट सेवा सुरु गर्ने तयारी रहेको समेत अध्यक्ष गुरुङले बताए ।
भवन अभावमा पालिका कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा निकै कठिनाइ भोग्दै आउनु परेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपागाँईले बताए । उनका अनुसार नयाँ भवन सम्पन्न भएसँगै पालिका कार्यालय तथा विषयगत शाखाहरू सञ्चालनसँगै जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही तीनै पक्षलाई सहज हुनेछ ।
बेसमेन्ट पार्किङ बाहेक तिन तल्ले भवनमा २५ कोठा रहेको छ ।
अध्यक्ष र उपाध्यक्षको अलग-अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर, बेशमेन्ट पार्किङ रहेको छ ।
संघीय सरकारको ६० प्रतिशत अनुदान र बाँकी ४० प्रतिशत गाउँपालिकाको बजेटबाट निर्माणाधीन भवनको भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि भइरहेको गाउँपालिकाले जनाएको छ ।