काठमाडौं- रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ ।
आज भएको ‘लो स्कोरिङ’ खेलमा काठमाण्डुसँग पराजय व्यहोरेसँगै लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो । तर, ब्याटिङका लागि कठिन बनेको पीचमा लुम्बिनी ८५ रनमै अलआउट भयो ।
बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।
लुम्बिनी लायन्सलाई लक्ष्यबाट टाढा राख्न काठमान्डुका करण केसीले ४, दिपेश कँडेलले ३, जेहार्ड एरासमसले २ विकेट लिए ।
काठमान्डुका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाएका थिए ।
लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।