काठमाडौं– सार्वजनिक बिदामा केन्द्र सरकारको रोग स्थानीय सरकारमा पनि सरेको छ।
केन्द्र सरकारले तजबिजका आधारमा बिदाको निर्णय गर्दै आएकामा अब स्थानीय सरकारले पनि त्यसै गर्न थालेका छन्।
सर्लाहीको लालबन्दी नगरपालिकाले वडासदस्यको निधनमा सार्वजनिक बिदा घोषणा गरेको छ। नगरपालिकाले वडा ३ का सदस्य जोधन ठाकुर हजामको निधनमा सोमबार शोक बिदा दिने निर्णय गरेको हो।
नगर प्रमुख वासुदेव अधिकारीले आइतबार आफ्नै हस्ताक्षरमा शोक बिदाको सूचना निकालेका छन्।
उनले हजामको निधनमा नगरपालिकास्थित सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, शिक्षण संस्था, वित्तीय संस्था लगायतमा शोक बिदा हुने सूचनामा उल्लेख गरेका छन्।
हजामको आइतबार निधन भएको थियो।