काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मोरङको कर्सीयामा रहेको उमागौरी सहकारीमा भएको रकम अपचलनका विषयमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी भएको छ । सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियाग पत्र दायर भएको छ । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागवादी अभियोग पत्रमा छ ।
मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश भएको हाे ।
मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका –४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । अन्य प्रतिवादी फरार छन् ।
सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्व सञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा विचाराधीन छ ।