काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिवार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ ।
शुक्रवार लिगको फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुवै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलीको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए ।
उनले भने, ‘हाम्रो सबै खेल राम्रो नै भएको छ । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसामा पनि राम्रो प्रस्तुति दिने योजनामा छौ । क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौँ । परिणामको बारेमा सोचेका छैनौ । खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौ । खेल हारेर डिमोटिभेट हुने भन्ने हुदैँन् । जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ ।’
यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए ।
उनले भने, ‘फाइनल खेल पनि पहिला जसरी खेलेका थियौँ त्यसरी नै खेल्ने छौ । फाइनल खेलको लागि विशेष योजना केही छैन । आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो ।’
क्यानले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठुलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।
विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।