काठमाडाैं– डा. बाबुराम भट्टराई समर्थक भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले संगठनका विस्तारलाई तीव्रता दिएको छ ।
शुक्रवार कतारको औद्योगिक क्षेत्रमा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहीको नेतृत्वमा भएको भेलाले दुई शाखा उप-समूह सनैया ‘क’ र ‘ख’ गठन गरेको हो ।
अध्यक्ष शाहीकाअनुसार नेपालको तरल राजनीति र डा भट्टराईकै गृह जिल्ला गोरखामा गत स्थानीय उप निर्वाचनले दिएको मत परिणामले गर्दा संगठन विस्तारको कार्यलाई स्वदेश र विदेशमा मजबुत बनाउँदै लैजान संगठन विस्तार गरिएको बताए।
समाजले दुई उप शाखामा गरी झन्डै ५० भन्दा बढी पार्टी समर्थकलाई संगठनमा आबद्धता गरेको छ । औद्योगिक क्षेत्र कमा सरोज कुमार महतोको नेतृत्वमा इकाई गठन गरेको छ । रुद्र बहादुर कटुवालको नेतृत्वमा सनैया औद्योगिक क्षेत्र इकाई ख गठन गरेको छ।
अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दोहाको सिङ्गो नेपाली समाजभित्रको बेथिति र श्रमिकको हकहितमा बोल्दै र दुःख र अन्यायमा परेकाहरूको सहयोगी संगठनको भूमिकामा काम गर्दै आएको छ ।
दोहाको पछिल्लो समयमा राहदानी नवीकरणका लागी श्रमिकहरूले स्लट नपाइरहेको अवस्थामा श्रमिकहरूले झन्झट, सास्ती खेप्नुपरेको नमिठो यथार्थलाई संगठनका प्रवक्ता ध्रुव क्षेत्रीले राजदूत समक्ष ध्यानाकर्षण गरेका छन् ।