बुटवल– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।
बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गरिन् ।
तत्काल संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन् ।
कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरू अलमलिएको बताइन।
काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजवुद बनाउन, जनतासँग नेताहरू पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिई क्रियाशील वितरण पनि अगाडि बढाएको बताइन् ।
क्रियाशील वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताइन् । वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि काँग्रेस–एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाले बताइन् ।
पूर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले कांग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने भन्दै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताइन ।
यो सरकार २०८४ सालसम्म नै एमालेसंगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने उल्लेख गर्दै माओवादीले जनतालाई पटक-पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन् ।
संविधान संशोधनमा महिलाको अधिकार प्राप्तिका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउने गरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी संग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउनुपर्नेमा जोड दिइन् ।