तनहुँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।
भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिँदै १० अर्ब पुँजीको लगानी कम्पनीसमेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरे।
नेपालको पर्यटन, ऊर्जा,सूचना प्रविधि र कृर्षि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरूलाई आग्रह गरे।
नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको उनकाे दाबी थियाे ।
पर्यटक आगमन बढिरहेको, रेमिटेन्स मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैङ्किङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको उनले बताए ।
भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रवर्द्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामना समेत दिए ।