पोखरा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार ठूलो भएको बताएका छन् ।
शनिवार पोखरामा आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका सभापतिहरूको प्रशिक्षण कार्यक्रममा उनले संविधान संशोधन गरेर संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने र चुस्त मन्त्रालय चलाउनुपर्ने बताएका हुन् ।
‘सरकारको साइज ठूलो भयो । यत्रो सरकार चाहिँदैन, यति धेरै चाहिँदैन । प्रदेशमा ४–५ कति जना मन्त्री बनाउने हो संविधानमा बाँध्नुपर्छ । संविधानमा २५ जना मन्त्री नलेखेको भए केन्द्रमा ५० जना मन्त्री बनाउनुपर्थ्यो,’ उनले भने, ‘पार्टी र गुट मिलाउँदा मिलाउँदा समस्या हुन्छ । गुट मिलेन भने मन्त्रालय तोड्दे भन्छ । त्यसैले संविधानबाटै मन्त्रालयको संख्या व्यवस्थित गर्नुपर्छ ।’
भिडिओ
केन्द्रमा पनि ७–८ मन्त्रालय मात्रै भए पुग्ने उनको तर्क छ । ‘केन्द्रमा यति धेरै मन्त्रालय चाहिँदैन । ७–८ वटा मन्त्रालय राखे हुन्छ । प्रदेशमा यत्रो ठूलो चाहिँदैन । यसको संख्या घटाउनुपर्छ,’ उनले भने, ‘सानो तर प्रभावकारी मन्त्रालय बनाउन संविधानमा काम गर्छौँ । अहिले काँग्रेसमा छलफल गरेका छौँ । एमालेसँग मिलेर सानो संयन्त्र बनाएका छौँ । त्यहाँ छलफल गर्छौँ । अनि माओवादी र संसद्मा भएका सबै दलहरूसँग छलफल गर्छौँ । अनि नागरिकसम्म पुगेर छलफल चलाउँछौँ ।’
माथिल्ला सरकारले साना आकारको बजेट छुटाएर त्यसको भारी प्रदेश र स्थानीय सरकारलाई बोकाइएको थापाले बताए ।
उनले लोकप्रिय पार्टीले पाँचै वर्ष सरकार चलाउने गरी संविधान संशोधन गर्न लागिएको बताएका छन् । ‘आम नागरिक यसले सरकार चलाओस् भन्ने चाहन्छन् । मतबाट अभिव्यक्त पनि गर्छन् । तर निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले ५ वर्ष सरकार चलाउन पाउँदैन,’ उनले भने, ‘सरकार चलाउन नपाउने भइसकेपछि अर्को पार्टीसँग मिलेर चलाउनुपर्छ । भारत, युरोपका कतिपय देशमा १५ वर्ष, २० वर्ष गठबन्धन सरकार चल्छ, नचल्ने होइन । तर हाम्रोमा गठबन्धन फिट भएन । जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ ।’
उनले कांग्रेसले जितेका पालिकाहरूलाई आगामी निर्वाचनमा संकल्प र घोषणापत्र नभई उपलब्धि पत्र लिएर जाने अवस्था बनाउन निर्देशन दिए ।