काठमाडाैं– केही दिन देखि पश्चिमी हावासंगै बाक्लो हुस्सु तथा शितलहरी हुन थालेपछि रौतहटमा अत्यधिक चिसो बढेको छ। चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ ।
अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । दिउँसोपख हुस्सु केही कम भए पनि घाम भने नलाग्ने गरेको मधेश प्रदेका अधिकांश स्थानीय तहमा बिहानैदेखि बाक्लो हुस्सु, शीतलहरूसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण हुदैं गएकाे छ । अत्याधिक चिसाेका कारण याे समयमा व्यापार घटेका कारण पसले चिन्तित छन्।
चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ। चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको किसानहरू बताउँछन् । बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा असर पुगेको छ ।
चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ । पुसको दोस्रो सातामा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो । बढ्दो चिसोले स-साना बालबालिका, वृद्ध वृद्धा र अशक्त व्यक्ति प्रभावित भएको छ भने स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको छ ।
जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
अहिले अस्पतालमा दम, निमोनिया, ज्वरो, झाडापखाला लगायतका बिरामीहरू आउने गरेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । अत्यधिक चिसो बढेपछि यहाँका मुख्य चौकमा आगो ताप्ने व्यवस्था गर्ने सर्वसाधारणले पालिकासँग आग्रह गरेका छन् ।