पोखरा– सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस अन्तिम चरणमा पुगिरहँदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरामै आयोजित आफ्नो पार्टीकै विभिन्न कार्यक्रममा सक्रिय सहभागी रहेका छन् ।
शनिवार बिहान हवाई उडानमार्फत पोखरा आएका महामन्त्री थापा शनिवार पार्टीको भातृ संस्था नेपाल मुस्लिम संघको भेला, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा पार्टीका तर्फबाट विजयी जनप्रतिनितिधिकाे अन्तरक्रिया कार्यक्रम सहभागी भए ।
उनी आज पनि कांग्रेस कास्कीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री थापा आफ्नो पार्टीको कार्यक्रममा सहभागी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू सशंकित देखिएका छन् । उनीहरू महामन्त्री थापा कास्की जिल्ला अदालतमा चलिरहेको सुर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दाको बहसमा प्रभाव पार्न आएको भन्दै सशंकित बनेका छन् ।
उनीहरूले नेपाली कांग्रेसका महामन्त्री थापा बसेको पोखराको लेकसाइडस्थित वरपीपल होटल वरपर आफ्नो पार्टीका कार्यकर्ताहरूले निगरानीमा राखेको सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
उनीहरूले नेपाली कांग्रेसका महामन्त्री थापाले को-कसलाई भेट गरेका छन् भन्ने बारेमा आफ्ना पार्टीका कार्यकर्ताहरूले निगरानी गरिरहेको बताउँदै मुद्दासँग सम्बन्धित पक्षको महामन्त्री थापासँग भेट भएमा फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी पनि दिएका छन् ।
उनीहरूले न्यायसंग सम्बन्धित पक्ष पनि महामन्त्री थापालाई भेट्न आउने पो हुन् कि भनेर आशंका गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले दुई दिन अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पोखरा आएर बरबिपल होटलमै बसेको जानकारी दिएका छन् ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेकको टुंगो लाग्ने लाग्दा पोखरामा व्यापक चहलपहल हुन थालेको छ । उक्त मुद्दाको थुनछेक बहसमा भाग लिन कानुन व्यवसायीहरू पोखरा आएका छन् ।
यसैक्रममा सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेको पक्षमा आज कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।