काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीको नयाँ पाइप लाइनहरू बिच्काइएका ठाउँहरूमा चाँडै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताएका छन् ।
मन्त्री यादवले काठमाडौंका अधिकांश ठाउँहरूमा खानेपानीको नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाँडै नै ती लाइनहरूबाट मेलम्चीको शुद्ध पानी वितरण गरिने बताए ।
उनले भने, ‘नयाँ पाइपलाइन बिस्तारको कार्य करिब करिब सकिएर अहिले परीक्षणको काम हुँदैछ । केही दिन धैर्य गर्नुस् नयाँ पाइप लाइन बिस्तार भइरहेका ठाउँमा म आफैँ अनुगमनका लागि खटिँदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइप लाइनबाट मेलम्चीको पानी पठाउने छौँ ।’
मन्त्री यादवले एक महिनाभित्र काठमाडौं उपत्यका भित्र जहाँ-जहाँ नयाँ पाइप लाइन बिस्तार गरिएको छ । त्यो क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने दाबी समेत गरे ।
उनले काठमाडौं उपत्यकामा खानेपानीको पाइप लाइनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको बताए ।
सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीको पाइपहरू भत्काइएका र फुटाइएका भए पनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा उपत्यकामा खानेपानी वितरण प्रक्रियामा निकै कठिनाइ उत्पन्न भएको उनकाे गुनासो थियाे।