काठमाडौं– प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् ।
केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीले प्रचण्डले एमालेसँगको सहकार्यबाट प्रधानमन्त्री भएपछि फेरि धोका दिएको स्मरण गरे ।
भ्रष्टाचारविरुद्धको कारवाहीलाई आफ्नो दलगत स्वार्थका लागि दुरुपयोग गरेको र सुन तस्करी, ललिता निवासजस्ता ठूला भ्रष्टाचार काण्डमा सरकारनै संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।
सरकारमै भएका बेला समानान्तर गठबन्धनको अभ्यास गरिरहने, पाँचै वर्ष सत्ता चलाउने चलखेल र ०८१ साल असारको दोस्रो सातातिर राष्ट्रिय सहमतिको सरकारको नयाँ आवरणमा प्रचण्डबाट कांग्रेसलाई सरकारमा सहभागी हुन प्रस्ताव राखेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।
उपयोग गर्ने र फ्याँक्ने प्रचण्डको पूरानै प्रयोगको नयाँ स्वरुपले मुलुकलाई थप अप्ठेरोमा पार्ने भएपछि कांग्रेस र एमाले मिलेको प्रतिवेदनमा उल्लेख छ ।
एमालेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड सकरारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको भन्दै अभियानका नाममा आफ्नालाई चोख्याउन केन्द्रित रहेको उल्लेख छ ।
ललिता निवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्र सम्बद्ध प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधव नेपाललगायतासँग सोधपुछ गरिएको र सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मकरूपमा मुद्दा चलाइएको उल्लेख छ
प्रचण्डले सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षण गरेको ओलीले आरोप लगाएका छन् ।
उनले ओलीले माओवादी केन्द्रलाई अवसरवादीको आरोप लगाए। सरकारबाट बाहिरिएपछि प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै तीव्र रोष प्रकट गरेका छन्।
‘गैर-कूटनीतिक र अशोभनीय टिप्पणी मात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमूना पनि थियो,’ ओलीले लेखेका छन्, ‘आज माओवादी–केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’ को विरुद्ध उग्र समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ। राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्दत देखिएको छ। पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ।’