काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टी स्थानीय तहकाे उम्मेदवार पार्टी हुन नहुने प्रस्ताव अघि सारेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले स्थानीय तहमा पार्टीकाे सर्मथनमा उम्मेदवार हुने तर चुनाव चिन्ह भने प्रयाेग नगर्न प्रस्ताव अघि सारेका हुन् ।
‘स्थानीय तहलाई यही रूपमा अघि बढाउने हो पार्टीले समर्थन गर्न पाउने तर पार्टीको चुनाव चिन्ह प्रयोग गर्न नपाउने खालको निर्वाचन पद्धति हुन पर्छ,’ उनले भने ‘पार्टीले समर्थन गर्न पाउने तर फलाना उम्मेदवार राम्रो हुनु भएको छ हामी समर्थन गर्छौँ भन्ने तर पार्टीको चुनाव चिन्ह प्रयोग गर्न नपाउने खालको निर्वाचन पद्धति अघि बढाऊँ । यसो गर्दा धेरै हदसम्म मान्छे स्वतन्त्र हुन्छ र हामीले भनेको जस्तो विकास हुन्छ ।’
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लोकप्रिय मत ल्याउनेले पाँच वर्ष निरन्तर सरकार चलाउन पाउनुपर्ने भनी गरेको बहसप्रति प्रश्न गरेका छन् । उनले भने, ‘सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको छ ।’
कांग्रेस र एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरि पुग्ने भन्ने बारे मात्रै बहस हुने गरेको उनले टिप्पणी गरे ।
नेता रिजालले अन्य राजनीतिक दलहरुमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे ।
यस्तो बहसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने उनको आशंका छ । उनले भने, ‘आजको कारोबारी राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरूरी छ ।’
कांग्रेस र एमालेको सरकार बनेपछि आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्नसक्छु भन्ने विषयमा मात्रै केन्द्रित रहेको उनको आरोप छ । ‘उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ । किन हुनुपर्यो ? चाहे बाबुरामजी (बाबुराम भट्टराई) ले भन्नुभएको होला, अथवा अरु कसैले भनेको होला, मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ,’ उनले सोधे, ‘किन भन्नुभएको छ भने सत्ता चलेको चल्यै गर्नुपर्यो ।’
कांग्रेसका महामन्त्रीद्वयको सुरु गरेको बहसले व्यवस्थापिका संसदको उत्तरदायित्व अन्त्य गर्ने उनको तर्क छ । ‘मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो । त्यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो ? व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ?’ उनले प्रश्न गरे ।
नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको कांग्रेस र एमाले बाहेकका अन्य राजनीतिक दलहरू नहोऊन् भन्न खोजेको बताए । ‘अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्नसक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुन्छ,’ नेता रिजालले भने ।