काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् ।
पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताएका हुन् ।
बैठकले पार्टीभित्र विचार, कार्य योजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै उनले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रमभंग गरेको उनको भनाइ थियो ।
अर्को एक प्रसंगमा प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले देशकै आगामी मार्गचित्र स्पष्ट गरेको जिकिर गरे ।
उनले दुवै पार्टीका बैठकबाट जनताले माओवादी र एमालेबीच को सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा छ ? को आन्तरिक लोकतन्त्रको पक्षमा र को निरंकुश रहेछ भन्ने राम्रोसित तुलना गर्ने अवसर पाएको बताए ।
‘एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको सुरुवात गर्यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौँ’, उनले भने, ‘यी दुई पार्टीका बैठकबाट एमालेलाई बुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।’
प्रचण्डले अब अभियानमार्फत व्यापक रूपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने बताए ।