काठमाडौं– उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले अहिलेको प्रक्रियाहरूमा भएका जटिलतालाई अन्त्य गरेर चाँडो सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभामा बोल्दै उनले, सरकारले सेवा सुविधा प्रवाह जनताले महसुस गर्ने खालको दिनका साथै टेबलमा फाइल थुपारेर मात्र राख्ने कार्यलाई अन्त्य गरेर सेवा प्रवाहलाई जबाफदेही बनाउनेतर्फ लाग्ने बताएका हुन् ।
‘सरकारले यतिबेला थुप्रै लगानी सहजीकरण र अहिलेको आर्थिक रूपमा रहेका जटिलताहरूलाई फुकाउन, आन्तरिक लगानी र बाह्य लगानी प्रवर्द्धन गर्न पनि हामीले नीतिगत रूपमा थुप्रै कानुनहरूलाई अध्यादेशबाट जारी गरेका छौँ,’ उनले भने,‘अबको चालु अधिवेशनको प्रारम्भमा विचाराधीन कानुनहरू समय सीमाभित्र पारित गछौं । अबको सरकारको सेवा सुविधा प्रवाह जनताले महसुस गर्ने खालको होस् । टेबलमा फाइल थुपारेर मात्र राख्ने कार्यलाई अन्त्य गरेर सरकारले सेवा प्रवाहलाई जबाफदेही बनाउने काम गर्छ । आजका प्रक्रियाहरूको जटिलतालाई अन्त्य गरेर चाँडो सेवा प्रवाहलाई हामीले प्राथमिकतामा राख्ने छौँ ।’
त्यस्तै उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी खाद्य व्यवस्थासँग मात्र अलि बढी केन्द्रित भएको भन्दै व्यापारलाई पनि सँगै लैजानुपर्ने बताए । देशव्यापी रूपमा खाद्य व्यापार कम्पनीलाई आम उपभोक्ताले महसुस गर्ने गरी आफ्नो कार्यक्षेत्रलाई रफ्तारमा विस्तार गरेर सेवा डेलिभरीलाई अगाडि बढाउनुपर्ने उनको भनाई छ ।
उनले भने,‘खाद्य व्यवस्थासँग हामी अलि बढी केन्द्रित भयौँ, मलाई के लाग्छ भने यो एउटा व्यापार कम्पनी पनि हो । तपाईँहरूले सबै पालिकाहरूसँग,स्थानीय तह र प्रदेशसँग पनि समन्वय गर्नुभएको छ । एउटा पालिकामा एउटा केन्द्र राख्ने गरी कार्यक्रम अगाडि बढाउन खोज्नुभएको छ । यसले देशव्यापी रूपमा सबै तहमा खाद्य व्यापार कम्प निलाई अब आम उपभोक्ताले चिन्ने गरी महसुस गर्ने गरी आफ्नो कार्यक्षेत्रलाई रफ्तारमा विस्तार गरेर सेवा प्रवाहलाई डेलिभरीलाई अगाडि बढाउनु पर्छ ।’