काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भन्ने हल्ला भ्रम भएको बताएका छन् ।
बालुवाटारमा बुधबार बिहान उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए ।
माओवादी अध्यक्ष प्रचण्डले मंगलबार मात्रै सुकेटेमा पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेका थिए । त्यसकै जवाफमा प्रधानमन्त्री ओलीले सरकार ढल्छ भन्ने भ्रममात्रै भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले विकास गरौं भन्ने इच्छाशक्ति नदेखाउँदा देशमा यो अवस्था आएको बताए ।
उनले आफू नेतृत्वको सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको दाबीसमेत गरे ।
‘भूमिसम्बन्धी अध्यादेश चाँडै आउँछ’
प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेश चाँडै आउने बताएका छन् । बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा भूमिसम्बन्धी अध्यादेश आजै जारी हुने बताएका हुन् ।
भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै भूमिसम्बन्धित समस्याहरु समाधान गर्ने उनले बताए । ‘केही अध्यादेश छन् । आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ । जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरु छन्, नसुल्झिएका समस्याहरु छन्, ती सुल्झाउन’, उनले भने ।
केही दिनअघि सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच अध्यादेश सिफारिस गरेको थियो । त्यसमध्ये चारवटा अध्यादेश जारी भएका थिए भने भूमिसम्बन्धी अध्यायदेश राष्ट्रपति पौडेलले रोकिदिएका थिए ।
संसदमा विचाराधीन विधेयक अध्यादेशको रुपमा जारी भएपछि त्यसको विरोध भइरहेको छ । जारी भएका चार अध्यादेशमध्ये ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ संसद्मा विचाराधीन विधेयक हो ।