काठमाडौं– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको गुनासो गरेका छन् ।
बुधवार काठमाडौंमा प्रदेश सरकारको आयोजनामा भएको स्थानीय तहका महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले सबै पालिकाहरूले उठाएको राजश्वमा ६० प्रतिशत प्रयोग गरेर ४० प्रतिशत राजश्व प्रदेशलाई बुझाउनुपर्ने भए पनि महानगरले अहिलेसम्म राजश्व नबुझाएको जिकिर गरे ।
पालिकाहरूसमेत बजेट चाहिएको बेलामा आउने तर अन्य समयमा कानुन निर्माण गर्न र कानुनलाई सहजीकरण गर्नुपर्यो भनेर सरकारसँग नजाने गरेको उनकाे गुनासाे थियाे। स्थानीय सरकारले प्रदेश सरकारसँग बजेट बाहेकका काममा समन्वय नगरेको बताए ।
उनले भने, ‘भन्दा कति हुने हो वा होइन । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश सरकारलाई दिनुपर्ने कुराहरूसमेत भएको छैन । राजश्व जति तपाईँहरूले उठाउनु हुन्छ, सबै पालिकाहरूले ६० प्रतिशत आफूले प्रयोग गरेर ४० प्रतिशत प्रदेशलाई दिनुपर्ने हो । काठमाडौँ महानगरपालिकाले आजसम्म पठाएको छैन । पालिकाहरूले बजेट चाहिएपछि प्रदेश सरकारसँग माग्न आउनुहुन्छ । त्यो भन्दा बाहेक, बजेट माग्ने भन्दा बाहेक अरू कुरामा कहिले पनि प्रदेश सरकारसँग समन्वय भइरहेको छैन । बजेटको बेलामा आउने, तर कानुन निर्माणको कुरामा केके झन्झट छन्, केके फुकाइदिनुपर्यो । त्यो त छलफल हुनुपर्छ नि । हामीलाई बोलाइदिनुस् । हामी आउन तयार छौँ ।’