चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेष रूपले सोच्नुपर्ने बताए।
प्रचण्डले भने, ‘बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अलि विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।’ उनका अनुसार बोटे समुदायको प्रगति भएको भने उनले छुटाएनन् ।
‘तपाइहरूँ जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरूलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरूको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ,’ उनले भने ।
वडा न १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको समुद्घाटनका लागि माडी पुगेका प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।
प्रचण्डले बोटे समुदायका अगुवाहरूसँग संक्षिप्त कुराकानी गरेका छन् ।
बोटे समुदायका अगुवाहरूले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए, जवाफमा प्रचण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बोटे समुदायको राजधानीको रूपमा चिनिने यो गाउँमा पुगेर उनले बोटे संस्कृतिसँग साक्षात्कार गरेका हुन ।