मोरङ– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीकै कारण आम उत्पीडित जनताले अधिकार पाएको दाबी गरेका छन् ।
ग्रामथान पालिका जीत पछि बधाई तथा धन्यवाद दिन पुगेका प्रचण्डले देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिनसमेत आग्रह गरेका छन् ।
‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौँ, जनताको विश्वास कायम राख्न नसकेकै हौँ,’ उनले भने, ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौँ, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौँ, तपाईँहरूलाई पनि २०६४ साल सम्झी दिन अपिल गर्दछु ।’
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको उनको भनाइ छ ।
‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारबाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो,’ उनले भने, ‘माथिल्लो तहका नेताहरू, कर्मचारी र बिचौलियामाथिको कारबाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ।’
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरू तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरूले होइन, बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरू उनीहरूका मुखौटा मात्रै भएको टिप्पणी गरेका छन् ।