काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले समर्थकलाई धन्यवाद दिँदै संन्यासको सङ्केत गरेका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैँभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दले नभ्याउने गरी कृतज्ञ छु ।’
हालै सम्पन्न नेपाल प्रिमियर कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भएका थिए । जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरेका थिए ।
उनले सन्यास नै लिन लागेका हुन् त ? वा केही अरू निर्णय लिन लागे ?
२४ वर्षीय सन्दीपका लागि सन्यास लिनका लागि त्यस्तो ठुलो कारण चाहिँ देखिँदैन । उनको व्यक्तिगत इच्छाबाहेक अन्य कारणले सन्यास लिनुपर्ने केही छैन ।
युवा उमेरमै सन्यास लिएको कुरा यसअघि भने पक्कै देखिएको छ । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले २४ वर्षकै उमेरमा २०२३ को एकदिवसीय विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यनस लिएका थिए । तर त्यो उनले टी२० करियरलाई थप स्तरीय बनाउनका लागि यस्तो निर्णय लिएको बताएका थिए ।
सन्दीपले यो स्टाटस राख्नुको पछाडि केहीले भने एटेन्सन पाउनका लागि हो भनिरहेका छन् । केहीले सन्यास र कतिपयले नेपाल छाडेर अर्कै देशबाट खेल्न लागेसम्म भन्न भ्याएका छन् ।