मकवानपुर– हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा उपमहानगरले विभिन्न शीर्षकमा १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सो अवधिको तुलनामा संकलन गरेको भन्दा तीन करोड १२ लाख बढी हो ।
सो चालु आर्थिक वर्षको छ महिनामा सम्पत्ति करबाट चार करोड ९४ लाख ६१ हजार, घर बहाल करबाट दुई करोड ८१ लाख ७३ हजार, नक्सा पास दस्तुरबाट दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट एक करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट एक करोड ८३ लाख ११ हजार राजस्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सो अवधिमा उपमहानगरले १६ करोड ६२ लाख ८६ हजार राजस्व संकलन गरेको थियो ।
बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आर्थिक वर्षको छ महिनामा राजस्व संकलनमा वृद्धि भएको उपमहानगरले जनाएको छ।