सिराहा– कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भइरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमसल निर्माण सामाग्री प्रयोग गरिरहेको पाइएको छ ।
पूर्व पश्चिम लोकमार्गको ४ लेन सडक निर्माण गर्न ठेक्का लिएका चाइना रेल्वे नं २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले प्राविधिकहरूकै मिलेमतोमा सडक निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गरिरहेको पाइएको हो।
चाइना रेल्वे नं २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले सडकमा प्रयोग गरिने सब वेस (ग्राभेल)को लागी स्थानीय कमलामाई सप्लायर्ससंग सम्झौता गरी सडकमा हाल्न लिएको (ग्राभेल) गुणस्तरहीन रहेको प्राविधिकहरूले नै बताउँछन्।
कमलामाई सप्लायर्सले गत वर्ष गागन नदीको किनारमा भण्डारणगरि राखेको ग्राभेल प्रयोगशालामा परीक्षणको लागी लग्दा प्राविधिकहरूले गुणस्तरीय रहेको रिपोर्ट दिएको थियो । रातो माटो , बालुवा र गिटीको सन्तुलित सम्मिश्रण नभएको भनेर ग्राभेल अस्वीकृत गरिएको थियो । पछि कमलामाई सप्लायर्सका सञ्चालक बेचन शर्माले प्रयोगशाला परीक्षक तथा कन्सल्टेन्ट इन्जिनियरहरूलाई आर्थिक प्रलोभनमा पारी सोही ग्राभेल पुनः परीक्षण गरी पास गराएका छन्।
कमलामाई सप्लायर्सले गत आर्थिक वर्ष २०८०/०८१ मा २२ हजार घन मिटर ग्राभेल गोलबजार नगरपालिका वडा नं. १ बलडाडा गाउँ छेउछाउबाट उत्खनन गरी गागन नदी किनारमा भण्डारण गरेर राखेको थियो ।
सडक निर्माण कम्पनीसँग कमलामाई सप्लायर्सले धनगढीमाई नगरपालिकाबाट उत्खनन गरेर ग्राभेल सप्लाई गर्ने सम्झौता गरे पनि प्राविधिकहरूकै साँठगाँठमा गोलबजार नगरपालिका वडा नं. १ बलडाडाबाट उत्खनन गरेर ग्राभेल दिएको जनाइएको छ। यहाँको ग्राभेलमा रातो माटो , बालुवा र गिटीको मिश्रणमा सन्तुलन मिलेको छैन र सस्तो भाउमा उत्खनन गरिएको थियो । बलडाडा गाउँबाट उत्खनन गरिएको ग्राभेल गुणस्तरीय नभएको कारण गत वर्ष स्थानीय तहहरूले पनि उक्त ग्राभेल खरिद गरेको थिएन ।
स्थानीय तहहरूले पनि अस्वीकृत गरेको ग्राभेल अहिले राष्ट्रिय गौरवको योजना पूर्व पश्चिम लोकमार्ग निर्माणमा प्राविधिक कै आर्थिक सेटिङमा प्रयोग भइरहेको नाम उल्लेख नगर्ने सर्तमा सडक निर्माण कम्पनीका एक कर्मचारीले बताए।
उनले भने, ‘कमलामाई सप्लायर्सबाट खरिद गरिएको गुणस्तरहीन ग्राभेल धनगढीमाई नगरपालिका वडा नं. ८ र ९ मा पर्ने कसहा खोलादेखि पूर्वको सडक खण्डमा र गोलबजार नगरपालिका वडा नंं ३ र ४ मा पर्ने सातपत्रे नदीदेखि पश्चिमको सडक खण्डमा सब बेसमा ओछ्याइएको छ । गागन खोलामा डम्पिङ गरी राखिएको गुणस्तरहीन ग्राभेलहरू प्रयोग गरेकै कारण सडक कालोपत्रे भएको महिना पनि नबितिँदै भत्किने गरेको छ।’
गोलबजार नगरपालिका २ का दिनेश यादव भन्छन् ‘म इन्जिनियर होइन’ तर नाङ्गो आँखाले देखिन्छ यहाँ हालिएको ग्राभेलमा माटो मात्र छ । यहाँ उच्च गुणस्तरको पहेँलपुर ग्राभेल हाल्नु पर्ने हो तर ठुलो बेइमानी गरिएको छ । नियामक निकाय मौन छ । पक्कै ठुलो रकमको चलखेल भएको छ । यादवले तत्कालै यो सब बेसमा हालिएको ग्राभेलको जाँच गरी कमसल सब वेस हटाउन र दोषीहरू उपर कारबाही गर्न माग गरेका छन् । यादवले सडक निर्माण प्रक्रियामा कम असल सामाग्री प्रयोग भएकोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिँदा पनि सुनुवाइ नगरिएको सुनाए।’
यता, धनगढीमाईका इन्जिनियर शम्भु यादव भन्छन्, ‘ग्राभेलको कम्प्याक्सन (भार वहन क्षमता ) मापन गरिन्छ । रातो माटो, बालुवा र गिटीको सन्तुलित सम्मिश्रण भएको ग्राभेल हुनुपर्छ । मात्रा मिलेको छैन भने त्यसलाई सब बेसमा हाल्न मिल्दैन । कालोपत्रे भासिन्छ, धाँजा फाटेर फुट्छ वा चर्किन्छ ।’
कमलामाई सप्लायर्सका सञ्चालक बेचन शर्मासँग प्रश्न गर्दा उनले पहिलो परीक्षणमा असफल भएको स्वीकार गरे । तर पछि माटो मिसाएर परीक्षण गर्दा पास भएकोले ग्राभेल सप्लाई गरेको बताए । उनले भने, ‘भण्डारण गरेर राखिएको ग्राभेलमा वर्षाले गर्दा माटो पखालिएको थियो । माटो मिसाए पछि गुणस्तर कायम भयो।’
निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्ने सडक निर्माणसँग सम्बन्धित ईश्वरी प्रसाद अमगाईँसँग यस विषयमा जिज्ञासा राख्दा उनले पनि पहिलो परीक्षणमा ग्राभेल असफल र अस्वीकृत भएको स्वीकार गरे । तर पछि अपुग पदार्थ मिसाएर परीक्षण गर्दा पास भएको स्वीकारे।
निर्माण सामाग्री कमसल प्रयोग गरिएकै कारण ठाउँ ठाउँमा कालोपत्रे उप्किन थालेको छ । कम्तीमा १२ वर्षसम्म नभत्किने ग्यारेन्टी भनिएको सडक कालोपत्रे गरिएको १५ दिनमै धाँजा फाट्न थालेपछि स्थानीयहरूले दुःखेसो पोखेका छन्। चाइनिज कम्पनीले निर्माण गरेको कालोपत्रे सडकमा धाँजा फाट्ने मात्र नभई खण्ड खण्डमा कैयौँ किलोमिटरमा जोल्डिङ्ग (बम्पिङ्ग) हुन थालेको छ ।
धनगढीमाईका वडा नं १ मुसहर्निया गाउँ क्षेत्रमा कालोपत्रे गरिएको एक साता भित्रै धाँजा फाटेको देखियो । कन्सलट्यान्ट कार्यालय लहान र आयोजना निर्देशनालय मिर्चैयाले रिपोर्ट गरेपछि चाइनिज कम्पनीले धाँजा फाटेको स्थानमा कालोपत्रे काटेर पुनर्निर्माण गर्यो तर तीन पटक मर्मत गर्दा पनि सो स्थानमा पुन कालोपत्रे चर्किएको स्थानीयहरू बताउँछन्।
एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको सडक चाइना रेल्वे नं २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले कञ्चनपुर-कमला सडक खण्ड ४७.४ किलोमिटर लम्बाएको कुल १६ अर्ब ७७ करोड रुपैयाँमा ठेक्का कबोल गरेको छ। चाइना कम्पनीले नेपाल सरकारसँग २५ जुन २०२० मा सम्झौता गरेको थियो ।
२८ अक्टुवर २०२३ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई हस्तान्तर गर्ने सर्त भए पनि चाइना कम्पनीले तोकिएको मितिमा काम सम्पन्न गर्न सकेन । त्यसपछि २७ डिसेम्बर २०२४ सम्मका लागि पहिलो पटक म्याद थप गरिए पनि हालसम्म मात्र ५५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशनालय मिर्चैयाले जनाएको छ ।