काठमाडौं- बैंक लोन रिकभरीमा समस्या बढेको नेपाल बैंकर एसोसिएसन (एनबिए)का अध्यक्ष सन्तोष कोइरालाले बताएका छन्। बैंकको खराब कर्जा बढ्दै जाँदा रिकभरीमा स्थानीय तहले सहयोग नगरेको उनले बताएका हुन् ।
एनबिएले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोइरालाले भने, ‘बैंकले लोन नउठेपछि लिलामी प्रक्रियामा लैजान्छ । तर, स्थानीय तहले घर बाटो सिफारिस दिन ढिलाइ गरिरहेका छ्न् । उहाँहरुको पनि आफ्नो लिमिटेसन होला तर यसले बैंक रिकभरीमा असर परिरहेको छ ।’
अध्यक्ष कोइरालाका अनुसार रिकभरीमा जाँदा बैंकका कर्मचारीहरु असुरक्षित हुने अवस्था आएको छ । बैंकरको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष कोइरालाले बताए ।
बैंकहरूले सोमबार दोस्रो क्वार्टरको रिपोर्ट सार्वजनिक गरिसकेको छ । रिपोर्टअनुसार धेरै बैंकको खराब कर्जा बढ्दो क्रममा छ । वाणिज्य बैंकको कराब कर्जा अनुपात नै ४.५ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।
बैंकहरुको वितरणयोग्य नाफाको अनुपात ऋणात्मक हुन पुगेको छ । नेपाली बैकिङ क्षेत्र बलियो रहेकाले सकारात्मक पछ्लाई हेर्नुपर्ने एनबिएका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले बताए ।