सिराहा– लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ ।
लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ । महिनौँदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रूप लिएको छ ।
गत सोमबार लहान नगरपालिकामा तालाबन्दी गर्न गएका आन्दोलनकारी र सुरक्षाकर्मी बीच घण्टौँसम्म घचेटाघचेट चलिरह्यो । मंगलबार सडक प्रदर्शनमा ओर्लिएका लहान नगरपालिकाका किसानहरू माथि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।
लहान नगरपालिकाको हठ छ नहर चाहिँदैन , ढलको आवश्यकता छ , त्यसकारण ढल निर्माण गर्छौँ । स्थानीय किसानहरू भन्छन् ढल अलग्गै बनाऊ । प्रयोगमा आइरहेको साबिकको नहर संरचना मास्न पाइँदैन । पटक पटक वार्ता संवाद भए पनि नगरपालिका र आन्दोलनकारी किसानहरू बीच सहमति हुन सकेको छैन । किसान आन्दोलनलाई नेकपा एमाले , नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसकै पनि एक पक्षले समर्थन गरेको छ ।
२००१९ सालमा करोडौँ खर्च गरेर निर्माण गरिएको खुट्टी खोला सिँचाइ आयोजना अन्तर्गत नहर लहान शहरको बीचोबीच बनेको छ । किसा भन्छन्, ‘यो नहर अझै चालु छ र वर्षयाममा करिब २ हजार बिघा जमिन रोपाई गर्न यो नहरले पानी दिन्छ । लहान नगरपालिकाको दाबी भने फरक छ ।’ पालिका भन्छ ,‘खुट्टी खोला सुखा नदी हो । यो नहर उपयोगविहीन छ । त्यसकारण यसलाई मासेर ढल बनाउन लागिएको हो ।’ पालिकाले ढल निर्माण गर्न ८ करोड ४८ लाखमा ठेक्का लगाएको छ । ठेकेदारले ढल निर्माण कार्य सुरु गरेपछि किसानहरूले प्रतिरोध थालेका हुन् ।
लहानका किसानहरूले खुट्टी खोला सिँचाइ संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । विगत दुई महिनादेखि जारी आन्दोलनले अब उग्र रूप धारण गरिरहेको छ । घोषित आन्दोलनको कार्यक्रम अनुसार माघ ९ गते आज जिल्ला प्रशासन कार्यालय सिराहा र उद्योग वाणिज्य संघ लहानको कार्यालयमा ज्ञापन पत्र बुझाउने , १० गते लहान नगरपालिकाको कार्यालय अगाडि धर्ना दिने , ११ गते शहीद चौक लहानमा मेयरको पुतला दहन गर्ने र १२ गते जनप्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
आन्दोलनकारी धर्मराज चौधरी भन्छन्, ‘नहर बचाउन लहानका किसानहरूले पुनरावेदन अदालत राजविराजमा रिट हालेका थिए । नहर नमासीकन ढल बनाउनु भन्ने अदालतको अन्तरिमको पनि अवहेलना गरी लहान नगरपालिकाका मेयर महेश चौधरीले बलपूर्वक ढल निर्माण जारी राखेका छन् । त्यसकारण हामी वारपारको स्थितिमा जान बाध्य भएका छौँ । ’
आन्दोलनकारी किसानहरूले सिँचाइ गर्ने प्रयोजनको लागि साबिक मै बनेको नहर मास्न पाइँदैन भन्ने अडान लिएका छन् ।
नेपाली कांग्रेसका युवा नेता अजय चौधरीले मेयर महेश चौधरीले स्थानीय प्रहरी र प्रशासनलाई नगरपालिकाको फन्डबाट पालेका बताए । प्रहरी प्रशासन मेयरको अन्धभक्त भएर जनतालाई दमन गरिरहेका छन् । किसानको नहर मासेर ढल बनाउने निर्णय निर्माण कार्यबाट आउने कमिसनको अभिष्टसँग जोडिएको युवा नेता चौधरीको दाबी छ ।
अर्का किसान नेता लहान नगरपालिका वडा न २३ का असेस्वर यादव भन्छन् ‘नहरको विकल्प केही थान बोरिङ्ग हुँदैन । हामी केही थान बोरिङ्गसँग नहर साट्न सक्दैनौ । अहिले पनि वर्षा याममा २ हजार बिघा जग्गा नहरबाट सिँचाइ हुँदैछ । त्यसकारण लहान नगरपालिकाको अविवेकी र जनघाति निर्णय फिर्ता लिनैपर्छ । ’
वडा नं. ११ का किसान नेता दीपेन्द्र चौधरी भन्छन् ‘सिराहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र लहानका डिएसपीलाई किनेर मेयर महेश चौधरीले कतिन्जेल मुढेबलमा शासन चलाउँछन् । लहानको रेस्टुरेन्टमा महँगो रक्सी खुवाएको भरमा प्रहरी प्रशासनले जनतामाथि लाठी बजार्छ भने उनीहरूको पनि चरित्र उदाङ्गो हुने छ । हामी नहर मास्न दिँदैनौ । आन्दोलन अझै उग्र बन्छ । त्यसको जिम्मेवार मेयर चौधरीले हुनुपर्छ ।
पत्रकार मिथिलेश यादव भन्छन्- ‘मेयर चौधरीले जनतालाई विश्वासमा लिएर आफूले गरेको कामको मर्म बुझाएर अघि बढ्दा उत्तम हुन्छ । बलपूर्वक गरेको कामको नतिजा सर्वथा अनुचित हुन्छ ।’
वद्धिजीवीहरुले तत्कालै नेपाल सरकारले मध्यस्थता गरेर हस्तक्षेपकारी भूमिका नखेले लहानमा रक्तपात हुन सक्ने सम्भावना औँल्याएका छन् । प्रदेश सांसद राजेन्द्र चौधरी भन्छन् मेयर महेश चौधरीले राणाकालीन शासनशैली र अविवेकी राजहठ प्रदर्शन गरेको र स्थानीय प्रहरी प्रशासन उनकै इशारामा नाचेको छ । मैले पटक पटक संसदमा आवाज उठाएको छु ।