पोखरा– नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैँ खोलेका छन्।
मेयर धनराज आचार्यसँग तीन बुँदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैँ खोलेका हुन्।
गणपूरक सङ्ख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरूले मेयर आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।
सोही दिन एमाले समर्थित नगर सभासदहरुले भने महानगरको विशेष नगरसभाले पारित गरेका एजेन्डाहरू त्यस दिनको नगरसभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले जानकारी दिए।
कांग्रेस महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार, मेयर आचार्यसँग महानगरमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच मङ्सिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित सातबुदे सहमति अक्षरशः पालना गर्ने, सम्पूर्ण वडा कार्यालय, महाशाखा, शाखालगायत खर्च केन्द्रका शीर्षक र रकमान्तर हुन नसकी पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प हुन गएको अवस्थामा महानगरको १६ औँ सभामार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरसभा माघ ११ गते बोलाउने सहमति भएको छ।
कांग्रेस संसदीय दलका नेता आफूहरू करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरू कार्यान्वयन गर्नमा प्रतिबद्ध रहेको बताउँछन्।
यता नेकपा एमालेका तर्फबाट पोखरा ५ मा वडाध्यक्ष बनेका विष्णुप्रसाद बरालले विगतमा आफ्नो पार्टीसँग भएको सहमति बमोजिमका एजेन्डाहरू माघ ११ गतेको नगर सभामा पेश नभए बैठक नै चलन नदिने दाबी गर्छन्। वडाध्यक्ष बराल आउने नगभा बैठकमा आर्थिक महाशाखा गठन, बक्यौता रकम असुली सम्बन्धी कार्य योजना लगायतका प्रस्तावहरू नआएमा बैठक नै चलन नदिने बताउँछन्।
वडाध्यक्ष बरालको प्रश्न छ ‘जनप्रतिनिधिसँग भएको सहमति कार्यान्वयन गर्नमा नेपाली कांग्रेस सहमत हो भने महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा किन ताला लगाइएको हो? उनीहरूले किन तालाबन्दी गरेर किन खोले त?’
सहमति कार्यान्वयन सम्बन्धमा नगरा सभामा नै छलफल गर्न सक्ने अवस्थामा कांग्रेसले महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर महाभूल गरेको वडाध्यक्ष बरालको टिप्पणी रहेको छ।