सुर्खेत- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
नीतिगत रूपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उनले स्पष्ट गरे ।
यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उनले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पारे । देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।
सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उनले विरोध जनाए । संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका सट्टा संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रीपरिषद्बाट नमिल्ने काम गरी दुस्साहस भएको भन्दै प्रचण्डले विरोध गरे ।
सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद् आह्वान गरेको बताए । अब विपक्षी दलहरूले संसदमा जनताका एजेन्डा प्रभावकारी रूपमा र आवश्यक कानुन निर्माणमा जोड दिने जानकारी पनि प्रचण्डले गराए ।