गोरखा– अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले आफ्नो कार्यकालमै अजिरकोटलाई उत्कृष्ट गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँपालिकाकाे आयोजनामा वडा न २ काे खरिबोटमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले गाउँपालिकाको विकासका लागि गरिएका प्रयास र आगामी योजनाहरूबारे विस्तृत जानकारी दिए।
कार्यक्रममा स्थानीयहरूले विभिन्न योजना र अनुदान वितरणमा राजनीतिक पूर्वाग्रह देखिएको गुनासो गरेका थिए। नेपाली कांग्रेसका वडा सभापति कालिका धितालले सार्वजनिक सुनुवाईका क्रममा जनप्रतिनिधिहरूले योजनाहरूमा राजनीतिक विचारलाई प्राथमिकता दिएको भन्दै आलोचना गरे। उनले भने, ‘गाउँको विकास राजनीतिक विभाजनबाट सम्भव हुँदैन। सबै मिलेर मात्रै गाउँको विकास र समृद्धि सम्भव छ।’ उनका अनुसार योजना र अनुदान वितरणमा निष्पक्षता अपनाइएन भने विकासका प्रयासहरू प्रभावहीन बन्न सक्छन्।
अध्यक्ष देवकोटाले भने विकासका कार्यमा समानताको नीति अपनाइएको दाबी गर्दै राजनीतिक पूर्वाग्रहका आरोपहरू अस्वीकार गरे। उनले भने, ‘अजिरकोटको विकास तपाईँ, हामी सबै मिलेर गर्ने हो। अरू नेताले आएर यहाँ विकास गर्ने छैनन्। हाम्रो नेतृत्वमा भएको प्रगति आफैँमा उदाहरणीय छ।’ गाउँपालिकामा चलिरहेका र आगामी दिनमा पूरा गर्ने विभिन्न विकास योजनाहरूबारे चर्चा गर्दै उनले विकासका प्राथमिकतामा सडक, स्वास्थ्य, शिक्षा, र सामाजिक समृद्धिलाई राखेको उल्लेख गरे। उनले सडकको गुणस्तर र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष देवकोटाले भच्चेक आधारभूत अस्पतालमा आगामी फागुनसम्ममा अप्रेसन सेवा उपलब्ध गराउने घाेषणा गरे। नेपाल सरकारले देशभरका स्थानीय तहमा जनसङ्ख्या, क्षमता, र आवश्यकता अनुसार अस्पताल निर्माणको योजना अघि बढाएको भए पनि अजिरकोटमा समयमै कार्यान्वयन भएकाे छ । शिक्षाको पहुँच र गुणस्तर सुधार्न नयाँ कार्यक्रमहरू सञ्चालन गरिरहेकाे बताउँदै उनले युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम र अन्य गतिविधिहरूको योजना बनाइएको भन्दै भने ‘हामी युवालाई सशक्त बनाएर आत्मनिर्भर बनाउने छौँ ।’
अजिरकोटको विकासका लागि सामुदायिक सहभागितालाई प्रोत्साहन गर्ने योजनाबारे पनि देवकोटाले जानकारी दिए। उनले जनतासँग निरन्तर संवाद गर्दै विकासका प्राथमिकता निर्धारण गरिने बताए।
गाउँपालिका उपाध्यक्ष अनिता भुजेलले चुनावी घोषणापत्रमा उल्लेख भएका धेरै विषय गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत कार्यान्वयन भइरहेको बताइन्। उनले भनिन्, ‘हामीले प्राथमिकताका आधारमा स्वास्थ्य, शिक्षा, रोजगारी, र पर्यटन क्षेत्रलाई विशेष ध्यान दिएर योजना बनाएका छौँ। सामाजिक सुरक्षा भत्ता प्रत्येक घरसम्म पुर्याउने हाम्रो प्रतिबद्धता थियो, जुन हामीले पूरा गरिरहेका छौँ।’
उनका अनुसार गाउँपालिकाका भच्चेक स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गरिएको बताइन्। ती अस्पतालहरूले २४ घण्टा सेवा दिन्छन् र दन्त सेवा तथा आँखा उपचारजस्ता सुविधासमेत प्रदान गरिरहेका छन्। ‘सुविधासम्पन्न एम्बुलेन्स पनि सञ्चालनमा ल्याएका छौँ,” उनले भनिन्। पाँच वटै वडामा सडक पिचको काम भइरहेको र मुख्य सडकहरूको स्तरोन्नति तथा भित्री बाटाहरूको निर्माण कार्य पनि तीव्र रूपमा अघि बढिरहेको उनले बताइन्।
उपाध्यक्ष भुजेलले आधारभूत र माध्यमिक तहको शिक्षामा गुणस्तर सुधार गर्न पहल गरिरहेको जानकारी दिइन्। ‘शिक्षामा भौतिक पूर्वाधारमा जसरी छिटो विकास भए पनि शिक्षामा गुणस्तरीय नतिजा ल्याउन समय लाग्ने रहेछ,’ उनले भनिन्। कृषिमा आधुनिक प्रविधिको प्रयोग गरी सुधार गर्ने प्रयास पनि जारी रहेको उनले बताइन्। वडा नम्बर २ मा मुख्यमन्त्री प्रवर्द्धन कार्यक्रममार्फत दीर्घकालीन योजनाहरू सञ्चालन भइरहेको उनले बताइन् ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रचना बुढाथोकीले गाउँपालिकाले सेवा प्रवाहका क्रममा आएका विषय, प्रश्न तथा वित्तीय अवस्थाका बारेमा जानकारी गराएकी थिइन्। उनले नागरिक प्रतिवेदन तथा बहिर्गमन प्रतिवेदनका आधारमा स्थानीय तथा सेवाग्राहीले उठाएका प्रश्न पालिकाको प्रशासनिक निकायबाट सेवा प्रवाह गर्न अझ सहज हुने भन्दै पालिकामार्फत प्रवाह हुने सेवा तथा सुविधालाई थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
सार्वजनिक सुनुवाइ र स्थानीयको प्रतिक्रिया
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयहरूले योजना निर्माण र कार्यान्वयन प्रक्रियामा देखिएका कमीकमजोरीबारे आफ्नो धारणा राखे। उनीहरूले बजेटको प्रभावकारी उपयोग र योजनाहरूको पारदर्शितामा जोड दिए।
खरिबोट वडा न २ का सिस्नेका एक स्थानीय कृषक प्रतापलाल तामाङ ले भने, ‘विकासका प्रयासहरू राम्रो भए पनि सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ। हामीलाई राजनीति भन्दा गाउँको विकास महत्वपूर्ण छ।’ वडा सभापति धितालले भने थप प्रश्न गर्दै भने, ‘राजनीतिक पूर्वाग्रहले विकासमा बाधा पुर्याउँछ। गाउँका सबै जनप्रतिनिधिहरूले एकताबद्ध भएर अघि बढ्नुपर्छ।’
उनले योजनाहरूमा समावेशितालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
अध्यक्ष देवकोटाले जनताको चासो र गुनासोलाई गम्भीरताका साथ लिएकाे बताए। उनले आफ्नो नेतृत्वमा अजिरकोटलाई गोरखाकै सबैभन्दा सबल, समझदार, र उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गर्ने दाबी गरे। उनले भने, ‘अजिरकोटको विकासका लागि हाम्रो नेतृत्वको पहिलो कार्यकालमै धेरै सुधारका संकेत देखिएका छन्। आगामी दिनमा हामी अझ सुधार गरी विकास गर्ने प्रयास गरिरहेकाछौँ।’
उनले थपे, ‘बन्द कोठाभित्र बसेर होइन, खुला ठाउँमा हामीले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका छौँ। यो कार्यक्रम गाउँपालिकाको कार्यालय भच्चेकमा मात्रै होइन, हरेक कार्यालयमा हुनुपर्छ भन्ने मान्यतामा आधारित छ। यसले जनताको चासो र प्रश्नलाई गाउँपालिकासम्म पुर्याउन सघाएको छ।’
उनले राजनीतिक व्यवस्थाका आधारमा हुने भेदभावलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘नेतृत्वले जे गरेको छ, त्यो सही छ भन्ने धारणा रहिरह्यो भने स्थानीय तहमा तानाशाही प्रवृत्ति मौलाउन सक्छ। यसका लागि नागरिकले खबरदारी गरिरहनु आवश्यक छ। जुन खबरदारी गर्ने थलाेका रूपमा सार्वजनिक सुनुवाइलाइ लिने गरिन्छ।’
सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमहरू स्थानीय तहमा जनताको आवाज सुन्न र तिनीहरूको सुझावलाई विकास प्रक्रियामा समावेश गर्न महत्त्वपूर्ण छन्। गाउँपालिकाको विकासका लागि अध्यक्ष देवकोटा र अन्य जनप्रतिनिधिहरूबीच सहकार्य र समावेशिता आवश्यक छ। योजनाहरूको सफल कार्यान्वयन र राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न सके मात्र अजिरकोटले उत्कृष्ट पालिकाको लक्ष्य हासिल गर्न सक्छ।
गाेरखा सन्देश मिडियाकाे समन्वयमा याे कार्यक्रम सम्पन्न भएकाे थियाे ।