जुम्ला- प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा छ । केन्द्रीकृत शासन व्यवस्थाका बेला ११ वटा गाविसमा फैलिएको सिन्जा संघीयतासँगै सिन्जा, हिमा र कनकासुन्दरी गाउँपालिकामा विभाजन भएको छ ।
नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ । सिंन्जामा नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेखलगायत प्राचीन र ऐतिहासिक सम्पदा अहिलेसम्म सुरक्षित रहेको कनकासुन्दरी–४ का वडाध्यक्ष धनमानसिंह हमालले बताए ।
उनका अनुसार बाइसे–चौबिसे शासनकालमा सिन्जा एक शक्तिशाली राज्य थियो । सिन्जा उपत्यकामा रहेको कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्यांगा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिर, लुड्कु लामाथारालगायत तीन दर्जन बढी साना–ठुला धार्मिक स्थल छन् ।
नाग्म–गमगढी सडक हुँदै सिन्जा उपत्यका भएर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल पुग्न सकिन्छ । यो बाटो हुँदै दैनिक ५० देखि एक सय गाडीमा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्छन् ।
खस राज्य सञ्चालनको समयमा बनाइएका मठमन्दिर, सिन्जा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेखसमेत अहिले बेवारिसे अवस्थामा भेटिने गरेका छन् । सिन्जाको भौगोलिक बनावट, सुन्दरता र हराभरा उपत्यकाले पर्यटकलाई मोहित बनाउने पर्यटकहरूको भनाई रहेको छ ।
उपत्यकाभित्र उत्पादन हुने फलफूल र रैथाने बाली तथा गाउँको बीच भएर बग्ने हिम नदीले पनि सिन्जाको सुन्दरता थपेको छ । झन्डै ३४६१ वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले सिन्जा राज्य स्थापना गरेका थिए ।
राजा जालन्दर शिवका भक्त थिए । शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ । खस राजा नागराज र उनका उत्तराधिकारीले सिन्जा राज्यमा झन्डै तीन सय वर्षसम्म शासन गरेको इतिहास छ ।
खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ‘करत राज्य’ बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।
‘राजा बलिराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको थियो,’ उनले भने, ‘नेपाल एकीकरणको अभियानमा शिवनारायण खमी नेतृत्वको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेल सम्म सिन्जा राज्यको अस्तित्व कायमै थियो ।’
आचार्यका अनुसार नेपाली भाषा, सभ्यता, संस्कृति सिञ्जाबाटै सुरु भएको हो । उनले खस भाषा विकसित भएर नेपाली भाषा भएको बताए । उनकै नेतृत्वमा खस भाषा र सभ्यताका संरक्षणका लागि खस शब्दकोश तयार हुँदै छ । शब्दकोश प्रकाशनपछि तत्कालीन सिन्जा राज्यभित्र बोलिने शब्द, भाषा संस्कृति, रीतिरिवाज, खेती प्रणाली, शिक्षाको अवस्था झल्किने उनले बताए ।
केन्द्रीय र प्रदेश सरकारले मन्त्रालयमा योजना बाडफाड गर्ने समयमा नाता गोता र कमिसन खेल मन्त्री, संसदहरुको पहुँचको आधरमा बाढीले भएको हुनाले नेपाली भाषाको उद्गम क्षेत्रमा कम बजेट पठाउने भएको हुनाले सिन्जा क्षेत्र र विशेष गरी कनका सुन्दरी गाउँपालिका भित्र रहेको पुराना संरचना इतिहास बोकेका मूल्यबान सम्पत्ति रीतिरिवाज ,चालचलन, देउडा, मागल, हुड्के नाच ,झोडा,मागल,स्थानीय चाडपर्वहरू, अलपत्र पनुका साथै ओझेलमा परेको गाउँपालिका ३ का समाजसेवी पंख बहादुर बुढाले बताए ।
नेपाली खस भाषाको उदय भएको जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिकाको हाडसिंन्जा बाट सुरुवात भएको हो ।
बिचमा केन्द्रीय सत्ताले बेवास्ता गरेको सिन्जा नेपाली कामकाजमा प्रयोग भएको भाषा स्थान भएको यस क्षेत्रमा इतिहास बोकेका मठमन्दिर, गुम्बा, गुफा, देवलहरूको संरक्षण गरी प्रचार प्रचार गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने खालका पुरानै शैलीका पूर्वाधार संरचनाहरू निर्माण, संरक्षण गर्ने, प्रचार प्रचार गर्ने, रैथाने खेतीहरूको उत्पादनमा जोड दिने विषादीरहित पालिका घोषणा गर्ने, पर्यटकहरूलाई समय दिन लम्ब्याउनका लागि संग्राहलय, कोसेली घर लगायतका संरचना निर्माण गरी स्थानीय गाउँपालिकामा रहेका नागरिकहरूको आय वृद्धि बढाउने खालका नीति तथा कार्यक्रमहरू ल्याउने र सञ्चालन गरिने कनका सुन्दरीका अध्यक्ष दामोदर प्रसाद आचार्य बताए ।