उहाँ मैँले सम्झनुपर्दा जीवन साथीका रूपले सम्झन्छु । उहाँ जनयुद्धका क्रममा शहीद हुनुभयो । त्यस कारण उहाँलाई एक महान् शहीदका रूपमा पनि सम्झन्छु । उहाँ एकदमै जनप्रेमी, अर्काको लागि भनेर ज्यान दिने, अर्काकै लागि प्राण दिन पाए हुन्थ्यो जस्तो चाहने व्यक्ति हुनुहुन्थ्यो । त्यही क्रममा उहाँले प्राण नै आहुति दिनुभयो । र महान् शहीद हुनुभयो । उहाँलाई जनयुद्ध भनेको नै थाहा थिएन । कहिलेकाहीँ घरमा आउँदा पनि उहाँ जनयुद्ध भनेको व्यक्तिगत लडाइँ होइन भन्नुहुन्थ्यो ।
देश परिवर्तनका लागि राज्य सत्तासँग लड्ने हो तर व्यक्तिगत लडाइँ होइन देश र दुनियाँको परिवर्तन वा मुक्तिका लागि हिँडेका हौँ भन्नुहुन्थ्यो । हामी लड्दै गएको कुरा तिमीले पनि थाहा पाइरहनुपर्छ भन्नुहुन्थ्यो । ‘लडाइँमा हिँडेको छु, कि त मुक्ति, कि मृत्यु हुनसक्छ त्यसमा तिमीले आँट गर्नुपर्छ भन्नुहुन्थ्यो । भोलि तिमी शहीद परिवार पनि हुन सक्छौँ भन्नुहुन्थ्यो । यसो भनिरहँदा मलाई एकदमै कहालीलाग्दो हुन्थ्यो । तर उहाँलाई ढुक्कका साथ भन्थेँ- कि त मुक्ति, कि त मृत्यु ।
अहिले ती दिनहरू सम्झिदा उदेकलाग्छ । आफूलाई सम्हाल्न धेरै नै गाह्रो हुन्छ । त्यो दिन नै मेरो लागि सबैभन्दा कालो दिन हो, जुन दिन मेरो जीवनसाथी शहीद हुनुभयो भन्ने शब्द कानमा गुन्जियो । त्यसबेला म बेहोस भएछु । ४८ घण्टासम्म बेहोस भएछु । जब होसमा आए तब पार्टीका मान्छेहरू आउनु भएको रहेछ । जब उनीहरूले मलाई सम्झाउन खोजे तर पनि म सम्हालिन सकिन । उहाँको कुराहरू कुरा दिमागमा आयो– या त मुक्ति या त मृत्यु भएर शहीद हुन्छु ।’ तब मैले आफूलाई सम्हाल्न खोजे ।
गाउँघरमा पहिला पहिला त छिमेकीहरूले फलानो चोर हो, ढाँट्न हिँडेको भन्ने । माओवादी यस्तै हुन्छ भन्थे । तर अलिकति बुझ्दै गएपछि राम्रो मान्छे रहेछ भन्न थाले । राम्रो गर्न हिँडेको र देश परिवर्तनका लागि हिँडेको भनेर जनयुद्धकै बेला भन्न थालियो ।
कुनै सौतेलो व्यवहार गर्दै दाजुभाइलाई अंश नदिएर र कान्छी तिरकाले राम्रो राम्रो रोजेर घरजग्गा ओगटिरहेको र जेठी पट्टीकालाई अन्याय भइरहँदा न्याय दिलाउने काम गर्नुहुन्थ्यो । धेरै काम गर्दागर्दै उहाँ अन्ततः शहीद हुनपर्यो । समाजमा शहीद परिवार भएर जीवनयापन गर्न धेरै गाह्रो भइरहेको । किनभने एक त आफूले अभिभावक गुमाउनुपर्यो । जसरी रथको दुई प्रांग्रामा एउटा पाङ्ग्रा नहुँदा रथ चल्दैन । त्यस्तै नै मेरो पनि उमेर कच्चा थियो । जसमा दुधे बच्चा र अर्को आठ वर्षको बच्चा हुर्काउने जिम्मेवारी थियो । त्यस्तो बेलामा एक्लै संघर्ष गरेर जीविकोपार्जन गर्न धेरै नै गाह्रो भएको थियो ।
उहाँले मेरो माइतीतिर पनि गएर छोरा भने पनि छोरी भने पनि इन्दिरा मात्र हो । म छोरा हुँ, ज्वाइँ नभन्नु भनेर बुझाउनुभएको थियो । सँगै लगेर राख्छु भनेर उहाँले मेरो ममीलाई पनि सँगै राख्नुभएको थियो । घर परिवारको राम्रो सहयोग पाएको थिएँ । तर समाजको कुरा गर्दा उसको श्रीमान् छैन भनेर नराम्रो दृष्टिले हेर्ने गर्थे । कोही बुझेकाले बाहेक अरूले राम्रो सोचेका थिएनन् । तर आफ्नो महान् शहीदको सपना पूरा गर्छु, उहाँकै नाममा जीवनयापन गर्छु भनेर कलिला छोराछोरी लिएर अहिलेसम्म बाँचिरहेको छु ।
राज्यले खासै सेवा सुविधा केही पनि दिएन । जनयुद्धका शहीदलाई द्वन्द्व पीडित भनेर शहीद भन्न चाहेनन् । यसले ज्यादै अपमानित भएको महसुस गर्छु । देशका लागि भनेर आफ्नो जीवन दिनुभयो तर उहाँलाई द्वन्द्वपीडित भनेर केही राहत मात्र दिइयो । त्यो लिने क्रममा मलाई धेरै दुख लाग्यो । बरु म दुःख गरेर भए पनि मेरो बच्चाहरू पढाउँछु, राज्यबाट पैसा लिन्न भनेर एकदमै रोए । पहिला अलिअलि आर्थिक रूपमा सहयोग गरेको थियो तर अहिले त्यस्तो केही पनि छैन ।
मेरो अपेक्षा के छ भने नगद नदिए पनि जति शहीद परिवारहरूको बालबच्चा छन्, आमाबुबा हुनुहुन्छ भने उहाँहरूलाई स्वास्थ्य, शिक्षा र रोजगारी दिने हो भने उनीहरूलाई बाच्ने आधार हुन्थ्यो । राज्यले यतिसम्म गरेको भए हुन्थ्यो भन्ने अपेक्षा राखेको छु ।
जसले देश र दुनियाँ परिवर्तन गर्नका लागि आफ्नो जीवन बलिदान दिनुभयो । उहाँलाई राज्यले एउटा द्वन्द्व पीडितको रूपमा हेर्यो । जो आफ्नो व्यक्तिगत स्वार्थका लागि अथवा कुनै आन्दोलनमा जाँदा मृत्यु भयो भने उसलाई शहीद घोषणा गर्ने काम भयो । त्यसमा छानबिन भएन भन्ने लाग्छ । यसले गर्दा वास्तविक शहीदको पहिचान भएन जस्तो लाग्छ ।
उहाँको व्यक्तिगत आनीबानी पनि अलिक पृथक् थियो । परिवारमा जति नै दुख भए पनि हसाउने, कथा, कविता सुनाएर मन भूल्याउने बानी थियो । सबैलाई खुसी पार्न चाहनुहुन्थ्यो । पहिले पहिले मैँले पनि बुझिन् । सधैँ छाडेर हिँड्दा दुःख लाग्थ्यो तर बिस्तारै बुझ्दै गएँ । उहाँ जनयुद्धका लागि हिँड्दा धेरै दुःख भने भयो । प्रमुख कुरा राज्यका मान्छेहरूले धेरै दुख दिने गर्थे । सेनाहरूले आएर घरमा राखेको चामल, खोरमा बाँधेका खसी बोका खाइदिन्थे । दिनहुँ यस्तो भएपछि म घरमा बस्दिन भनेर घुर्की लगाउँथे तर उहाँले बन्दुक बोकेर हिँड् भन्नुहुन्थ्यो । तर म सक्दिन थिए । यता र उताबाट पेल्छ अनि कहाँ गएर मार्दिन्छ भनेर डर लाग्थ्यो । मेरो मुटु पनि कमजोर रहेछ । अहिले मुटुको अपरेसन गरेपछि पो थाहा भयो ।
उहाँको यस्तो स्मरण शक्ति छ कि म जति रिसाए पनि, जति गाली गरे पनि र पीडा पोखे पनि म सँग पोख । म सँग दुख पोख । अरू कोसँग गर्छौँ र अझै केही भन्न बाँकी छ मलाई नै भन । मलाई अझै गाली गर भन्नुहुन्थ्यो । अरूको घरमा परिवार सम्हाल्न नसकेर, बच्चा छाडेर हिँड्छन् तर तिमिले यत्रो संघर्ष गर्यौँ । तिम्रो र मेरो संघर्ष भनेको बराबर हो । म बाहिर हिँडेर गरेको छु भने तिमीले घरमा गरेको छौँ । यो युद्ध भनेको तिम्रो र मेरो सँगै हो । त्यसैले मलाई जति भन्नु छ भन भन्दै सम्झाउनुहुन्थ्यो । कहिलेकाहीँ त एक–डेढ वर्षसम्म पनि भेट हुँदैनथ्यो । एकचोटी भेट्दा उहाँले भनेको शब्दहरू मेरो कानमा गुन्जिन्थे ।
जति उहाँहरू बलिदान दिनुभयो, जीवन उत्सर्ग गर्नुभयो । त्यसको तुलनामा राज्यको तर्फबाट त्यस्तो खासै केही भएन । किनभने आफ्नो व्यक्तिगत स्वार्थको लागि हिँड्नुभएको थिएन नि । उहाँहरू श्रीमती, छोराछोरी पाल्छु, धेरै कमाउँछु भनेर हिँड्नु भएको होइन नि । देशको मुक्तिको खातिर केही गर्छु भनेर हिँड्नुभएको हो । तर केही पाउनु भएन नि ।
राजसत्ताबाट उहाँको हत्या भयो । रौतहटमा त्यो घटना भएको ठाउँमा पनि गए हेरेँ । उहाँलाई लखेट्दै लगेर मारेको ठाउँ पुगेर आए । उहाँको सम्मानलाई राज्य सत्ताले पूरा गर्न सकेको छैन । उहाँले गर्न खोजेको कुरा पार्टीले पनि गरेन । म पार्टीलाई एउटा खबरदारी के गर्छु भने उहाँ त महान् शहीद हुनुभयो । तर जति बाँचेकाहरू छौँ, उहाँहरूको संरक्षण त पार्टीले गर्नुपर्ने होइन र ? उहाँ जीवित हुँदासम्म उहाँले गर्नुभयो । आजका दिनमा अग्नि सापकोटाले बोलेका शब्दहरू सम्झिरहेको छु । सापकोटालाई देख्दा भक्कानिन्छु ।
माओवादीको सरकार आएपछि खास महान् शहीद को हो भनेर छानबिन हुन्थ्यो भन्ने लागेको थियो । सबैलाई शहीद भनेर घोषणा गर्नुभएको तर वास्तविक शहीदको पहिचान हराएको छ । आफ्नो सरकार हुँदा पनि वास्तविक शहीद पहिचान गरिदिएको भए हुने तर त्यो आफ्नै सरकार हुँदा पनि गर्न सकेन । समग्र शहीद परिवारको पक्षबाट बोल्दा केही पनि भएको छैन ।
सबै दुखी गरिबले जनयुद्ध सुरु गरेर आन्दोलन गरेर आज सत्तासम्म आइपुग्ने माहोल बनाएको किसानकै परिवारबाट हो । त्यसैले जहाँ हुनुहुन्छ । अहिलेपनि त्यही ठाउँमा हुनुहुन्छ । कसैले श्रीमान्, कसैले छोराछोरी, कसैले श्रीमती गुमाउनु भएको छ । पढ्न पाउनु भएको छैन । स्वास्थ्य सेवा पाउनु भएको छैन । रोजगारी पाउनु भएको छैन । धेरै शहीद परिवारहरू पीडामा हुनुहुन्छ ।
स्वास्थ्य, शिक्षा र रोजगारीको चाहिँ व्यवस्था गर्दिए हुन्थ्यो भन्ने अपेक्षा छ । वास्तविक शहीद भनेको इतिहासका अजम्बरी शहीद हुन् । उहाँहरू कहिल्यै कहिले पनि मृत हुनुहुन्न । उहाँकाहरुको इतिहासमा कहिल्यै नाम मर्दैन उहाँहरू नै वास्तविक शहीद हुन् । किनकि उहाँहरू देश र जनताको लागि आफ्नो जीवन नै उत्सर्ग गर्नुभयो। उहाँहरूलाई राज्यको उचित सम्मान र माया चाहिएको छ ।
(रीतबहादुर खड्का ‘प्रताप’ जन्म २०२८ भदौ १२ गते दोलखा भएको हो । २०३८ सालबाटै वामपन्थी राजनीतिमा लागेका उनी माओवादीको केन्द्रीय समिति सदस्य पनि थिए । उनी माओवादीको २०५७ सालको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए। केन्द्रीय समितिको बैठक सकेर फर्किने क्रममा २०५९ असार २ गते रौतहटमा उनको हत्या भएको थियो । शहीद दिवसका अवसरमा उनकी श्रीमती इन्दिरासँग गरिएको कुराकानीमा आधारित)