काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दल मिलेर अर्थतन्त्र लगायतका क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताएका छन् ।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रदेखि सबै क्षेत्रमा प्रतिकूल असर परेको भन्दै अहिले ठुला दल मिलेर अर्थतन्त्र लगायतका क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताएका हुन् ।
अहिले अर्थतन्त्रलाई लयमा फर्काउने कोसिस भइरहेको जानकारी दिँदै उनले देशलाई २०२६ मा अर्थतन्त्रको मध्यम स्तरमा पुराउनका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए । प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माण गरेर मुलुकको विकास गरिने बताए ।
सूचना प्रविधि क्षेत्रलाई उद्योगको रूपमा विकास गरी निर्यात व्यापारको रूपमा अघि बढाउने गरी काम भइरहेको उनले बताए ।
प्रधानमन्त्री विदेशबाट सामान ल्याएर विदेशमा नै निर्यात गर्ने कामले नक्कली आँकडा स्थापित हुन खोजेको भन्दै स्वदेशमा नै उत्पादित सामाग्रीलाई निर्यात गर्न सक्नुपर्नेमा जोड दिए ।
विश्वमा प्रतिस्पर्धी ढंगले सूचना प्रविधिको विकास भइरहेको सन्दर्भमा नेपालमा त्यसको उचित तवरले प्रयोग गरेर फाइदा लिन सक्नुपर्ने धारणा राखे ।
भृकुटीमण्डपमा आगामी माघ २१ गतेसम्म चल्ने चेम्बर एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा व्यवसायी, पहिरन, पाठ्यपुस्तक, सूचना प्रविधि लगायतका क्षेत्रको स्टल रहेका छन् ।
स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बरले जनाएको छ । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले हरेक वर्ष एक्स्पो गर्दै आएको छ ।