स्याङ्जा– माघ १८ गतेदेखि सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रूपमा प्रवेश पाउने नेपाली कांग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन् ।
भिरकोटलमा सम्पन्न कांग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रम बोल्दै पूर्वमन्त्री गुरुङले सबैको अपनत्व हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका हुन ।
उनले भने, ‘यहीँ हिउँदे अधिवेशनबाट संविधान संशोधनको प्रक्रिया सुरु हुन्छ।’
कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, समाजवादी, मधेसवादी सबैको बीचमा सर्वदलीय समिति बनाएर प्रक्रिया अगाडि बढ्ने बताउँदै उनले संविधान संशोधन आजको आवश्यकता भएको हुँदा सबैको सहमतिमै संशोधनको प्रक्रिया अगाडि बढ्ने धारणा राखेका छन् ।
देशमा देखा परेका आर्थिक, संवैधानिक जटिलता अन्त्य गर्न दुई पाटीको संयुक्त सरकार बनेको प्रसंग जोड्दै यी दुई पाटीलाई देशको समस्या समाधान नगर्ने छुट नभएको समेत धारणा राखेका छन् ।
ऋण लिएर घ्यू खान नहुने प्रसंग जोड्दै उनले सधैँ विदेशमा निर्भर हुने अर्थतन्त्र अन्त्य गर्नुपर्नेमा जोड दिए ।
विदेशबाट ल्याएको समानमा लगाउने करबाट उठेको रकमले देशमा सोचेजस्तो विकास गर्न नसकिने भन्दै देशकै आन्तरिक अर्थतन्त्र बलियो बनाउन पनि यति बेला सबै राजनैतिक दल एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।
कांग्रेस भित्रको एकता स्याङ्जाबाट सुरु गरिएको उद्घोष गरे ।
उनले भने, ‘सहिद दिवस यिनै सहिदहरूलाई साक्षी राखेर स्याङ्जाबाट एकता अभियान सुरु गरेका छौँ ।’
पाटीभित्रको गुटबन्दीले सीमित व्यक्तिले पद प्राप्त गरे पनि कांग्रेसको लक्ष्य प्राप्ति नहुने उनको भनाइ थियो । पाटीको लक्ष प्राप्ति गर्न सबैले गुट त्याग्न उनले आग्रह गरेका छन् ।